मकवानपुर गोल्डकप : सातदोबाटो बिरुद्घ एपीएफका खड्काको गोल निर्णायक
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भईरहेको पाँचौ संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा एपीएफ विजयी भएको छ ।
हेटौंडा–५ को क्याम्पा चौरमा भएको खेलमा सातदोबाटो क्लब, ललितपुरलाई शुन्यका विरुद्ध १ गोल गर्दै नेपाल एपीएफ विजयी भएको हो । एपीएफका युवराज खड्काले खेलको ६ औं मिनेटमा गोल नै आजको खेलको निर्णायक गोल भएको थियो । आजको म्यान अफ द म्याच सातदोबाटो क्लब, ललितपुरका मणी लामा भएका छन् ।
प्रतियोगितामा एउटा विदेशी, ७ वटा ए डिभिजन र ४ वटा मोफसलका गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउनेछन्, भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच भएका खेलाडीले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
माघ २८ गते शुरु भएको प्रतियोगिता फागुण १० गते फाईनल खेल हुनेछ । मकवानपुर गोल्डकपको अघिल्लो चौथो संस्करण त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो ।