किताबघरमा ‘सानो छहारी’को चर्चा

हेटौडा न्युज
१८ माघ २०८१, शुक्रबार २१:३४
;

मकवानपुर/किताबघर, हेटौँडाले मासिक रुपमा सन्चालन गर्दै आइरहेको ‘बालबालिकासँग किताबका कुरा’को तेस्रो शृङ्खला शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पाँचवटा विद्यालयका विद्यार्थीले ‘सानो छहारी’ किताबको परिचर्चा गरेका छन् ।
पुस्तकका लेखक यशु श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा ज्ञानोदय बालवाटिका आवासीय मावि, पिप्लेका नेत्रप्रसाद उप्रेती, माउन्ट एभरेष्ट इङलिस स्कुल कमानेकी सारिका सुवेदी, चन्द्रोदय मावि कमानेकी शुभेच्छा तिमल्सिना, श्रमिक मावि कर्राकी प्रियङ्का गुप्ता र जीएस निकेतन हेटौँडाकी रुबस पराजुलीले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए । सहभागीहरूले ‘सानो छहारी’ पुस्तकले पर्यावरणीय चेतनाका साथसाथै तीन फरक पुस्ताबिचको सम्बन्धलाई बुझाउन सहयोग पुग्ने बताए । यसका साथै कुनै प्राणीप्रति दयाभाव प्रकट गर्दैगर्दा  जीवजन्तुहरूको खाद्य शृङ्खलामा असर गर्ने अवस्थाप्रति लेखक सजग हुनुपर्ने बताएका थिए ।
सहभागीहरूका जिज्ञासाको जवाफ दिँदै लेखक श्रेष्ठले लेखकीय विवेक प्रयोग गर्दै पाठकले सोचेभन्दा फरक तरिकाले पनि कथावस्तु अघि बढाउन सक्ने बताए । दुई सयभन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशन गरिसकेका उनलेे बालबालिकाले आफ्ना निजी अनुभवहरूलाई समेटेर पनि कथा सिर्जना गर्न सक्ने उल्लेख गरे ।
कार्यक्रममा माउन्ट एभरेष्ट इङ्लिस स्कुलका प्रिन्सिपल रामहरि रिमाल, मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदिपराज गिरि, खोजी प्रकाशन गृहका प्रकाशक सुशील चालिसे, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला लगायतको उपस्थिति रहेको थियो ।
किताबघरले गत पुसदेखि हरेक महिनाको तेस्राे शुक्रबार नियमित रुपमा सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*