फागुनमा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव

मकवानपुर/साहित्यमा नयाँ पुस्ताको विकासका लागि सक्रिय नवसर्जक साहित्य चौतारी नेपालले हेटौँडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव गर्ने भएको छ । सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ९ र १० गते दुई दिन नवसर्जक उत्सव तथा नवसर्जक साहित्य चौतारी नेपालको अधिवेशन हुने जानकारी गराइएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको मुख्य आर्थिक व्यवस्थापनमा उत्सव आयोजना हुन लागेको हो । नवसर्जक साहित्य चौतारीमार्फत साहित्य लेखनमा जोडिएका युवा एवम् किशोर साहित्यकारहरूका साथमा हेटौँडाका विद्यालय तहका बालबालिका उत्सवमा सहभागी हुने संस्थाका संस्थापक दीपक गौतमले जानकारी दिए ।
साहित्य उत्सव मार्फत् प्रदेशको विगतदेखिको पहिचानलाई थप नयाँ उचाइमा पुर्याउने , नवसर्जकहरु उत्पादन गर्ने तथा पठन तथा लेखन सँस्कृतिको विकास गर्ने प्रमुख उद्देश्य लिइएको गौतमले बताए । कार्यक्रममा २५ वर्ष मुनिका नवसर्जक विद्यार्थी, शिक्षक र साहित्यकार गरी करिब ४ सय जनाको उपस्थिति रहने अनुमान गरिएको छ ।
उत्सवको पहिलो दिन फाल्गुन ९ गते विभिन्न ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुने बताइएको छ । जसअन्तरगत मुक्तक, गजल, लोक लयका कविता, गद्य कविता, कथा, नाटक, निबन्ध लेखन (यात्रा संस्मरण) र चित्रकला समावेश हुने छन् । यस्तै उत्सवको दोस्रो दिन फाल्गुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुने भएको छ ।
उत्सवमा राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार राशीको पुरस्कार, ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई ७ हजार ७ सय ७७ रुपैँया राशीको सम्मान र एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तालाई १५ हजार ५ सय ५५ नगद राशीसहित सम्मानित गरिने भएको छ ।