हेटौँडामा नवसर्जक उत्सव सुरु, पहिलो दिन सिर्जनात्मक कार्यशाला सम्पन्न

हेटौडा न्युज
९ फाल्गुन २०८१, शुक्रबार २१:३४
;

मकवानपुर/नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव हेटौँडामा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको,आर्थिक व्यवस्थापन तथा भुटनदेवी माध्यमिक विद्यालय र प्याब्सन जिल्ला तथा नगर समिति, हेटौँडा मकवानपुरको सहकार्यमा सुरु भएको राष्ट्रिय नवसर्जक उत्सव एवम् नवसर्जक साहित्य चौतारी नेपालको प्रथम केन्द्रीय अधिवेशनको शुक्रबार प्रा. डा. चूडामणि बन्धुले उद्घाटन गरेका हुन् ।

दुई दिनसम्म चल्ने नवसर्जक उत्सवमा पहिलो दिन साहित्यका विविध विधामा विधागत सिर्जनात्मक लेखन कार्यशालाहरू सम्पन्न भएका छन् । भुटनदेवी माध्यमिक विद्यालयमा भएका विधागत कार्यशालामा मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यात्रा संस्मरण लेखनमा रमेशमोहन अधिकारी, कथा लेखनमा निमेष निखिल, गद्य कविता लेखनमा सुवास खनाल एवम् हास्यव्यङ्ग्य लेखन कार्यशालामा राजकुमार लामिछानेले सहजीकरण गरेका थिए । यस्तै नाटक लेखनतर्फ माधव पोखरेल, विश्वनाथ सञ्जेलले मुक्तक लेखन, लोक लयमा कविता लेखन कार्यशालामा पुरुषोत्तम आचार्य, गजल लेखनतर्फ केशव समर्पण तथा चित्रकलातर्फ सूर्य सन्यासीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

यसैबीच, वनसर्जक उत्सवमा सहभागिता जनाउन सातवटै प्रदेशबाट हेटौँडा आइपुगेका सर्जकहरूले शुक्रबार साँझ हेटौँडाको सहिद स्मारक भ्रमण गरेका छन् । सोही अवसरमा उनीहरूले बागमती प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलसँग अन्तरक्रिया गरेका छन् ।

सहिद स्मारकको परिकल्पना, विकास र भावी योजनाका विषयमा केन्द्रित अन्तरक्रियामा पौडेलले स्मारकलाई अझै बहुआयामिक बनाउने प्रयास भइरहेको जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*