लेखक सङ्घद्वारा नेपाली विषयका उत्कृष्ट विद्यार्थी पुरस्कृत

मकवानपुर/नेपाली लेखक सङ्घ मकवानपुरले नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने मकवानपुरका दुईजना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
कक्षा १२ को वार्षिक परीक्षामा जिल्लाभित्रका विद्यालयहरूबाट सर्वोत्कृष्ट नतिजा ल्याउने प्रतीक ढुंगाना र साक्षी कुमारी लाललाई शनिबार सङ्घको चौथो जिल्ला अधिवेशनका अवसरमा दामोदर-लोकप्रिया स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत दुवै विद्यार्थीले हेटौँडाको हेटौँडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् ।
नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम तथा माधवप्रसाद पोखरेलले आफ्ना पूर्वजहरूको स्मृतिमा स्थापना गरेको सो पुरस्कारको राशी जनही ११ हजार रुपैयाँ रहेको छ । हेटौँडाको पल्पसा प्याराडाइज होममा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्य, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी तथा पुरस्कार संस्थापक विष्णुप्रसाद गौतमले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सङ्घको नवौँ साधारणसभा तथा चौथो अधिवेशनका क्रममा साहित्यकारहरू ज्योत्स्ना श्रेष्ठ, हरि पौड्याल, देवराज तिवारी, सानु खनाल लगायतले रचना वाचन गरेका थिए ।
अधिवेशनले केन्द्रिय सदस्य हयग्रीव आचार्यको संयोजकत्वमा अप्सरा बस्नेत र हेमन्त ढुङ्गेलसहितको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । यस्तै नेपाली लेखक सङ्घको चैत १६ र १७ गते लुम्बिनीमा हुने आठौँ महाधिवेशनका लागि छवि अनित्य, हेमन्त ढुङ्गेल र अप्सरा बस्नेतलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।