गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमती

गायिका आस्था राउतलाई पक्राउ गर्न काठमाडौं जिल्ला प्रशासनले अनुमति दिएको छ । गत बुधबार विमानस्थलमा चेकजाँच गर्ने क्रममा गायिका राउतले गत बुधबार ड्युटीमा रहेको प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिशा श्रेष्ठले उजुरी गरेकी थिइन् ।
प्रहरीले घटनाबारे छानबिन गरेर प्रारम्भिक प्रतिवेदन बुझाएपछि प्रशासनले उनलाई पक्राउ गर्न अनुमति दिएको हो। गायिका राउत फरार रहेको र उनलाई प्रहरीले खोजी गरिरहेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले जनाएको छ ।
चेकिङ पस्चात गायिका राउतले फेसबुकमा भिडियो सेयर गर्दै आक्रोश पोखेकी थिइन्। सोलगत्तै चेकजाँचको सीसीटीभी फुटेज भिडियो विमानस्थल प्रहरी कार्यालयले सार्वजनिक गरेको थियो।
प्रहरीले भने उनीविरुद्ध साइबर अपराधसम्मको कारबाही अघि बढाउने तयारी थालेको छ ।











