स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो २ अर्ब २५ करोड बढीको सम्झौता
नेपाली सेनाले चीनबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदका लागि सवा २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरेको छ ।
सेनाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा कवच (पीपीई), मास्क, ग्लोब्स लगायतका स्वास्थ्य समग्री खरिदका लागि १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन् ।
सेनाले चीनबाट करिब ३ सय ४० टन स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो ।
जीटूजी विधिबाट हुने खरिद अनुसार सेनाले चीनसँग सम्झौता गरेको हो । सम्झौताअनुसार नेपालले खरिद गर्ने स्वास्थ्य सामग्रीहरु हवाई तथा स्थल दुवै मार्गबाट ल्याइने छ ।
यसअघि सरकारले आम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो । ओम्नीसँगको सम्झौता विवादित भएपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।











