राप्रपाको प्रशिक्षण आजबाट हेटौंडामा
-1568027411.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई आजबाट हेटौंडामा एक कार्यक्रम गर्दे कार्यकर्ता प्रशिक्षित अभियान शुरु गरेको छ । “प्रशिक्षक प्रशिक्षण” नाम दिईएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले हालको सरकार तथा प्रतिपक्ष दुबै असफल भईसकेको टिप्पणी गरेका छन् । उनले देशको प्राचीन मूल्यमान्यता, संस्कृति, परम्परा र सनातन धर्म समेत नष्ट गर्न उद्दत रहेको आरोप लगाएका छन् । अध्यक्ष थापाले देशका शीर्षस्थ नेता, ठूला व्यापारी र उच्च पदस्थ कर्मचारीको त्रिकोणात्मक सेटिङ्गमा देशमा भ्रष्ट्राचार बढीरहेको र न्यायालय समेत दुषित बनाएको आरोप लगाएका छन् । सम्बोधनमा अध्यक्ष थापाले एनसेल, नेपाल वायु सेवा निगम, बालुवाटार प्रकरण लगायतको विषयमा सरकार चुकेको धारणा व्यक्त गरेका छन् । केही कमजोरीका कारण चुनावमा पार्टी पराजित भएपनि पछिल्लो समय पार्टीको सिद्धान्तलाई जनताले मनपराएको उनले दाबी गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो हालको विधान संशोधन गर्दै सक्रीय कार्यकर्ताबाट प्रत्यक्ष निर्वाचित मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरेको जानकारी दिएको छ । राप्रपाले २०७६ लाई “संगठन निर्माण बर्ष”को रुपमा अघि बढाउने र देशको ७ सय ५३ स्थानीय तहमा संगठन विस्तार गर्दै यस बर्ष ३ लाख सक्रीय कार्यकर्ता निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।
पार्टीले निर्धारित समय भन्दा करीब ९ महिना अघि नै पार्टी महाधिवेशन गर्ने लक्ष्य लिएको मकवानपुर अध्यक्ष मधु अधिकारीले बताएका छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दीपक सिंह, गणेश थापा, सहमहाकन्त्री राजाराम बर्तौला, भक्ति सिटौंला लगायतको सहभागिता रहेको थियो ।