खानेपानी बोर्डको हिसाब अब डिजिटल पाटीमा , पारदर्शितामा एक कदम अगाडी

हेटौडा न्युज
२७ भाद्र २०७६, शुक्रबार १९:२३
;

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आजबाट डिजिटल पाटीको शुरुवात गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वीच थिचेर शुरुवात गरेको सो पाटीमा बोर्डबाट पाईने सेवासुविधाका सहित आयव्यय प्रकाशित हुनेछन् । सार्वजनिक निकायले आफूले दिने सेवाका बारेमा जानकारी दिने उद्देश्यले नागरिक बडापत्र राख्नु पर्ने नियम रहेकोमा बोर्डले सो भन्दा एक कदम अघि बढेर मासिक रुपमा आफ्नो आय व्यय तथा बचत समेतको हिसाब नै डिजिटल बोर्डमा प्रकाशित गर्ने भएको छ । सो डिजिटल बोर्डमा प्रत्येक महिनाको १० गते भित्र अघिल्लो महिनाको सम्पूर्ण हिसाब प्रकाशित हुने बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिएका छन् । उनका अनुसार डिजिटल बोर्डमा आएको आयव्ययमा शंका लागे वा गुनासो सल्लाह भएमा प्रशासनमा सम्पर्क गर्न सकिने बताएका छन् । 
""त्यस्तै, खानेपानी बोर्डले जिल्लामै पहिलो पटक पानी महशुल बुझाउन आउने दुधेबालक सहितका आमाहरुलाई सुविधा सम्पन्न स्तनपान कक्ष समेत सञ्चालन गरिसकेको छ भने बोर्डबाट वितरित पानीको गुणस्तर जाँचका लागि प्राविधिक सहितको ल्याब कक्ष सञ्चालन गरिरहेको छ । बोर्डले आगामी २ बर्ष भित्र पानीका कारण रोग लागेमा त्यसको क्षतिपूर्ति दिने सम्मको लक्ष्य लिएको जनाएको छ । त्यस्तै नगर क्षेत्रमा पानीको पाईप फुटेमा वा कुनै समस्या आएमा दिउँसोको अलावा तत्काल समाधान गर्ने उद्देश्यले रात्रीकालिन प्राविधिकको व्यवस्था समेत गरेको जनाईएको छ । खानेपानी बोर्डका अनुसार आजबाट ग्राहकले पानी महशुल बुझाउनु परेमा इन्टरनेटको माध्यमबाट घरमै बसेर महशुल बुझान सक्ने पनि जानकारी गराएका छन् ।  
हेटौंडा उपमहानगरपालिका भित्र १७ हजार १ सय ६१ धाराबाट दैनिक १ करोड ३५ लाख ९२ हजार खानेपानी वितरण गर्दै आएको छ । बोर्डले आज पत्रकार सम्मेलन मार्फत आव ०७६।०७७ मा रु. १५ करोड २८ लाख आम्दानी गर्दै पूँजीगत तर्फ रु. ८ करोड २२ लाख २५ हजार खर्च गरेको जनाएको छ । आजको कार्यक्रममा राजश्व बापतको बैंक मौज्दात रु. ३ करोड १० लाख रहेको विवरण सार्वजनिक गरेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*