बर्तमान व्यवस्था टिकाउन काँग्रेसको भूमिका महत्वपूर्ण–नेता बानियाँ
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले आफ्नो पार्टी बर्तमान व्यवस्था प्रति अरुभन्दा बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । जिम्मेवार नबन्ने हो भने आलको लोकतान्त्रिक गणतन्त्र टिकाउन समेत असम्भव हुने धारणा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियान अन्तर्गत आज हेटौंडामा भएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता बानियाँले बामपन्थी शासनको नेपाली कांग्रेसले दुईवर्षसम्म पर्ख र हेरको अवस्थामा सहेर बसेको तर यस्तै रबैया रहेमा आफ्नो पार्टीले सशक्त प्रतिकार गर्ने बताएका छन् ।
नेता बानियाँले कांग्रेसले गरेको महत्वपूर्ण कामका बारेमा टोलटोलमा पुगेर जनतालाई सुसूचित गराउन अगुवा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।
मकवानपुर क्षेत्र १ ख का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४ र १५ गरी १२ वडाका सभापति तथा प्रतिनिधिहरुले बर्तमान सरकारले गरेका कार्यहरुको बारेमा भण्डाफोर तथा नेपाली कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पु¥याउनु पर्ने सुझाव सहितको प्रतिवेदन बुझाएका थिए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टीका जिल्ला प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र १ ख का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, ६ नम्बर वडाअध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघकी सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, महिला नेतृ लक्ष्मी थिङ्गले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए ।
कांग्रेस मकवानपुरका जिल्ला पदाधिकारीहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, क्षेत्र १ ख अन्तर्गतका १२ वडाका पदाधिकारी, सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।