सभापति देउबा भोलि हेटौंडा आउने, काँग्रेसको ६ जिल्लाको भेला भोलिबाट शुरुहुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम मकवानपुरको हेटौंडामा हुने भएको छ । प्रदेश ३ भित्रका मकवानपुरसहित चितवन, धादिङ्ग, सिन्धुली, नुवाकोट र रसुवा गरी ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला कार्तिक २६ र २७ गते दुईदिनसम्म हुने बताईएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको प्रदेश सभा सदस्य तथा काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् । भेलाको पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने नेपाली कांग्रेस मकवानपुरले जानकारी दिएको छ ।
सहभागीहरुलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदीशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । उद्घाटनसत्रमा दलका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोइरालालगायतका केन्द्रीय नेताहरुको समेत सहभागिता रहने आज हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।