मकवानपुरको कैलाशमा एकल चेपाङ महिलाको बिजोग
घाम पानी दुवै छिर्ने फुस्को घर । पानी र घाम छिर्ला भनेर एक पाखोमा प्लास्टिकको त्रिपालले छोपेको छाप्रो । छाप्रोभित्र खुट्टा पसारेर सुत्ने ठाउँको अभाव । एउटा कुनामा अगेना । त्यही नजिक आगो बाल्ने दाउराको चाङ । अर्को कुनामा थोत्राथात्री कपडा डोरीमा झुन्डाएको ।
प्लास्टिकको बाटामा चार माना जति कोदोको पिठो । त्यही पिठोको ढिँडो पकाउने तयारीमा रहेकी मकवानपुरको दुर्गम कैलाश गाउँपालिका–३ परबाङकी कालीमाया चेपाङ ।
‘जता भत्क्यो उत्तै दैलो’ भनेजस्तै ६५ वर्षीया चेपाङको फुस्को घरको ढोका छैन । ढोकाको चौकोस नै उप्किएको छ । घरको तल्लोतर्फको भाग पनि ह्वाङ्ङै छ । जताबाट भित्रबाहिर गरे पनि हुन्छ । ‘हुरी आउँदा पनि उनको फुसको छाप्रो उडाउने अवस्थामा छ,’ छिमेकी बलबहादुर चेपाङले भने, ‘पानी पर्दा उनी घरभित्रै ओढ्नेमाथि प्लास्टिक राखेर सुत्छिन्, जाडोमा २४ सै घण्टा अँगेनामा आगो बाल्छिन् ।’ उनको छाप्रो अहिले धराप थापेजस्तो छ । छाप्रोभित्र चारैतिरबाट चिसो हावा छिर्छ । चिसोबाट बच्ने उनको एक मात्र उपाय अँगेनामा आगो बाल्नु ।
ओढ्नेको नाममा उनीसंँग एउटा कम्बल छ । त्यो पनि च्यातिएको छ । छाप्राभित्रको भुइँमाथि २ वटा चेप्टोफ्ल्याक छन् । त्यही फ्ल्याकमाथि थोत्रो गुन्द्री ओछ्याएर उनी सुत्छिन् ।
‘जाडोले गर्दा कहिलेकाहीं निद्रा नै लाग्दैन,’ कालीमायाले भनिन्, ‘दनदनी आगो बालेर सुतेपछि अनि निद्रा आउँछ ।’ उमेरले बुढौली लागेको भएपनि पेट पाल्नका लागि उनी छिमेकीहरूको मेलापात जान्छिन् । त्यही मेलापातबाट आम्दानी गरेको पैसाले पिठो, चामल र मरमसला किनेर पेट पाल्दै आएकी छन ।
एकल महिला भएका कारणले उनले सामाजिक सुरक्षा भत्ता पाउने गरेकी छन् । त्यही भत्ताका कारणले उनलाई जीवन धान्न सहज भएको छ । १० वर्षको उमेरमा विवाह गरेकी कालीमाया ९ वटा बच्चा जन्माइन् । तर, अहिले उनको साथमा एउटा पनि छैन । उनले एक छोरी र ८ वटा छोरा जन्माएकी थिइन् । ६ महिनादेखि ३ वर्षसम्म पुग्दानपुग्दै छोराहरू सबै मरे । एउटा मात्र छोरी बाँचिन्, तिनको पनि विवाह भइसकेको छ ।
जंगलमा जंगली कन्दमूल खोज्न जाँदा कालीमायाको पति सोमबहादुर चेपाङको भीरबाट लडेर ५ वर्षअघि मृत्यु भएको थियो । ९ वटा सन्तान जन्माउने कालीमाया अहिले सहाराविहीन छिन् । पानी र घाम छिर्ने जीर्ण छाप्रो अहिले उनको एक मात्र सहारा बनेको छ ।
छिमेकीहरूले कहिलेकाहीं माया गरेर उनलाई बोलाएर खाने दिने गरेका छन् । उनको आफ्नो एक धुर जमिन पनि छैन । फुसको छाप्रोको स्वामित्व पनि उनीमा छैन । उनी एकल महिला मात्र होइन, पूर्ण रूपमा सुकुम्बासी पनि छिन् ।
उनको विजोग देखेर गाउँपालिकाको अनुरोधमा सीसीडीएन नामक एक गैरसरकारी संस्थाले भूकम्पपीडित लाभग्राहीमा राखेर उनलाई घर बनाउन थालेको छ ।
कालीमायाको नाममा एक धुर जमिन पनि नभएकाले घर बनाइदिने दाता अन्योलमा परेका थिए । कालीमायाका ज्वाइँ राजेश चेपाङले सासूलाई घर बनाउन घडेरी उपलब्ध गराइदिएकाले सीसीडीएनले उक्त वडाको डाँडागाउँमा घर बनाउन थालेको छ ।
‘घर बनाइदिन लागेको कुरा सुनेको छु खुसी लागेको छ,’ उनले मुसुमुसु हाँस्दै भनिन्, ‘बूढा भएको बेलामा त्यस्तो घरमा बस्ने पाएको भए हुन्थ्यो ।’
त्रिभुवन राजपथको चुनियाबाट साढे २ घण्टा कच्ची सडक हुँदै सवारीसाधनमा हुइँकिएपछि उनको घर पुगिन्छ । कच्ची सडकवाट १० मिनेट हिँडेपछि ढल्नै लागेको कालीमायाको प्लास्टिकले एक पाखाको छानो छोपेको छाप्रो भेटिन्छ । अग्लो कदकी कालीमाया छाप्रो भित्रबाहिर गर्दा निहुरिएर छिर्छिन् । निहुरिइनन् भने ठोकिन्छिन् । कैलाश गाउँपालिका झन्डै एक हजार ७ सय घरधुरी चेपाङ समुदायको बसोबास रहेको छ । तीमध्ये ४० प्रतिशत चेपाङ सुकुम्बासी छन् ।
पुस्तौंदेखि बसोबास गर्दै आएको छाप्रोले ओगटेको जमिन उनीहरूको नाममा छैनन् । रगत र पसिनाले सिञ्चित गरेको खोरिया उनीहरूको स्वामित्वमा अहिलेसम्म आउन सकेको छैन ।
कालीमायाजस्तै बालविवाहको चपेटामा अहिले पनि चेपाङ महिलाहरू छन् । ११, १२ वर्षको उमेरमा नै विवाह गर्ने प्रचलन अहिले पनि बाक्लै छ ।
मुलुकमा राजनीतिक परिवर्तन आए पनि चेपाङ समुदायलाई यो परिवर्तनले छुन सकेको छैन । ‘राजनीतिक परिवर्तनले चेपाङ समुदायको जीवनमा खासै फरक पार्न सकेको छैन,’ पूर्वसभासद गोविन्दराम चेपाङले भने, ‘सम्बन्धित गाउँपालिकाहरूले चेपाङ समुदायको समग्र उत्थान गर्न योजना बनाउनुपर्छ ।’
मकवानपुरमा रहेका चेपाङ समुदायहरू राजनीतिक, शैक्षिक सामाजिक, आर्थिक र सांस्कृतिक रूपले अत्यन्त पछाडि पारिएका छन् । ‘उनीहरूको उत्थान नभएसम्म मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाको विकास सम्भवछैन,’ पूर्वसभासद चेपाङले यी दुई गाउँपालिका घनीभूत ढंगले चेपाङ लक्षित कार्यक्रम ल्याउनुपर्छ ।’ स्रोत : कान्तिपुरदैनिक