अनेरास्ववियूको कार्यविभाजनमा असन्तुष्टि, नेतृत्वले गुटगत राजनीति गरेको आरोप
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विद्यार्थी संगठन अनेरास्ववियूले एकता टुंगो लागेको भन्दै ३ सय ३५ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको केहि समय नबित्दै केहि असन्तुष्टिहरु देखिन थालेका छन् ।
तत्कालीन अखिल क्रान्तिकारीका केही नेताहरुले पार्टी अध्यक्ष प्रचण्डसमक्ष आफ्ना असहमति राख्दै हालको केन्द्रीय समिति अस्वीकार्य हुने बताएका छन् ।
प्रचण्डलाई बुझाइएको असहमतिपत्रमा तत्कालीन अखिल क्रान्तिकारीका उपाध्यक्षत्रय पञ्चा सिंह, दीपक देवकोटा र रविकिरण यादवको हस्ताक्षर छ ।
यसैगरी तत्कालीन अखिल क्रान्तिकारीका प्रदेश १ संयोजक मदन भट्टराई, प्रदेश २ संयोजक सूर्यनारायण साह, प्रदेश ४ संयोजक क्षितिज सापकोटा, प्रदेश ५ संयोजक नारायण खनाल र कर्णाली प्रदेश संयोजक अम्मराज शाहीले पनि असहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
कसैलाई मनोनितको नाममा, कसैले विशेष कोटाको नाममा आफू निकटका व्यक्तिहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यसरी ल्याइएका कतिपय निर्वाचन हारेकाहरु छन्, कतिपय एकदमै जुनियर छन्, यस्तो गर्दा धेरै सिनियर साथीहरु छुटेको, संगठनको नेतृत्वले गुटगत राजनीति गरेको असन्तुष्ट पक्षको भनाइ रहेको छ ।
तर अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष एवम् अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने अहिलेको केन्द्रीय समिति गुटगत रुपमा नभइ विधिसम्मत ढंगले चयन गरिएको बताएका छन् ।
तामाङका अनुसार विधिसम्मत छलफल गरेर, बिभिन्न कार्यदल बनाएर अहिलेको केन्द्रीय समिति बनाइएको हो । म बाहेकका सिनियर साथीहरु रहेको कार्यदलले तयार पारेको मापदण्डको आधारमा बनाइएको हो । अहिले असहमति जनाउने कतिपय साथीहरु पनि कार्यदलमा रहेको बताएका छन् ।
उनले भने जे बबण्डर गर्न खोजिएको छ, त्यो राष्ट्रिय सम्मेलनको निर्वाचनको बाँकी रहेको तुस हो । व्यक्तिगत रुपमा रञ्जित तामाङलाई असफल बनाउन खोज्ने अमूक नेताहरुको इन्ट्रेष्टबाट भएको हो ।