ईपीएलमा सन्दिप काठमाडौं किंग्स ११ मा अनुबन्धीत, घरेलु लिग खेल्न आतुर छुः सन्दिप
गतवर्ष पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको कप्तानी गरेका सन्दीप लामिछानेले यस वर्ष काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । यस पटक उनलाई काठमाडौं किंग्स ११ ले अनुबन्ध गरेको छ ।
प्लेअर ट्रेडमा काठमाडौंले सन्दीपलाई ललितपुरबाट लिएको हो । काठमाडौं किंग्स ११ ले सन्दीपको अनुबन्ध रकम भने खुलाइएको छैन ।
गत सिजन एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्दै गर्दा बीचमै छाडेर बीबीएल खेल्न अष्ट्रेलिया पुगेका सन्दिप ललितपुर प्याट्रिओट्सबाट २ खेल खेल्दै उनी ड्रिम लिग खेल्न गएका थिए । यो सिजन त्यही ड्रिम लिग खेलेपछि घरेलु लिग खेल्न आउँदैछन् । ललितपुर प्याट्रिओट्सबाट २ खेल खेले यता सन्दिपले घरेलु लिग खेलेका छैनन् ।
नयाँ सिजन नयाँ फ्रेन्चाइजमा अनुबन्ध भएपछि सन्दीपले खुशी व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत नयाँ सिजन काठमाडौंबाट खेल्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।
सन्दीपले ट्वीटमा लेखेका छन् ‘आगामी ईपीएलको लागि काठमाडौं किंग्स ११ मा अनुबन्ध हुँदा खुशी छु । लामो समयपछि घरेलु लिग खेल्न लागेको छु । घरेलु दर्शकको अगाडि खेल्न पाउनु रमाइलो हुन्छ । धेरै प्रतीक्षा गर्न सक्दिन’ ।
ईपीएल चैत १ देखि १५ गतेसम्म हुँदैछ ।
सन्दीपले यस सिजन बीबीएलमा स्टार्सका लागि ९ खेल खेल्दै ११ विकेट लिएका छन् । उनी सर्वा्धिक विकेट लिनेमा बलरहरुको सूचीमा आठौं स्थानमा परेका छन् ।
२०१८ मा इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्समा छनोट भएपछि विश्वभर चर्चित बनेका सन्दीपले त्यसयता प्राय सबै देशमा फ्रेन्चाइज लिग खेलिसकेका छन् । उनले भारत र अष्ट्रेलियाका साथै क्यानडा, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र अबुधावी टी– १० लिगसमेत खेलेका छन् ।
यस्तै इंग्ल्याण्डमा हुन लागेको नयाँ फर्म्याटको दी–१०० बल क्रिकेटको लागि उनी छनोट भइसकेका छन् ।
सन्दीपले पछिल्लो पटक नेपालमा लिग खेल्दा पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । उनले ५ खेलमा १० विकेट लिए पनि विराटनगरले भने जम्मा १ खेल मात्र जित्दै लिग तालिकाको अन्तिम स्थानमा रहेको थियो । यस पटक आँखाको लेजर शल्यक्रिया गरेको नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत नखेलेका सन्दीपले दोस्रो संस्करणको पीपीएल पनि खेलेनन् ।
सन्दीपले सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।