मकवानपुरमा वन मास्दा मुद्दा

हेटौडा न्युज
४ माघ २०७६, शनिबार १९:१६
;

मकवानपुरका दुई दर्जन सामुदायिक वनका पदाधिकारीसँगै तत्कालीन जिल्ला वन अधिकृत (डीएफओ) सहित १० कर्मचारी अदालत र अख्तियार धाइरहेका छन्।

बकैया गाउँपालिका–८ स्थित देउती खोला सामुदायिक वन उपभोक्ता समितिका १३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। डिभिजन वन कार्यालय र सरकारी वकिल कार्यालयले ८ हजार ९ सय ५५ क्युफिट सालको काठ अवैध ढंगले कटान गरी नोक्सानी गरेको भन्दै बिगोबमोजिमको सजाय माग गरेका छन्।

बागमती–९ स्थित अमलेचौर सामुदायिक वन उपभोक्ता समितिका १२ जनाविरुद्ध पनि सालको जंगल फँडानी गरेको आरोपमा जिल्ला अदालतमै मुद्दा चलिरहेको छ। वनसम्बन्धी सातवटा मुद्दा बहसका क्रममा रहेको स्रेस्तेदार केशव कौशिकले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमै वनसम्बन्धी नौ मुद्दा अदालतले फैसला गरेको छ। यी मुद्दामा दुई दर्जनभन्दा बढी वन उपभोक्तासहितका पदाधिकारी र सदस्यले जेल सजाय र जरिवाना व्यहोरेका छन्। डिभिजन वन कार्यालय मकवानपुरले चालू आवमा हालसम्म नौ मुद्दा दायर गरेको डिभिजन प्रमुख इमनाथ पौडेलले बताए।

सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीसँग मिलेर स्वीकृत कार्ययोजना तथा निर्णयविपरीत तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेलगायतले तहरिया साल र अस्ना जातका रूख कटान गरी ९ हजार १ सय ७८ क्युफिट काठमा नोक्सानी गरेको अख्तियारको दाबी छ। उक्त दाबीसहित आयोगले गत पुस २७ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको आरोपपत्रमा तत्कालीन वन अधिकृत न्यौपाने, सहायक वन अधिकृत रामबाबु यादव, राजेन्द्रमान भण्डारी अवकाशप्राप्त सहित १० कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीसँग १ करोड ५२ लाख बिगो असुल्नुपर्ने माग दाबी गरिएको छ। स्रोत : अन्नपुर्णपोष्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*