प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्तिराजपथ पहिरोको उच्च जोखिममा
बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्तिराजपथ पहिरोको उच्च जोखिममा रहेको एक प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
कान्ति लोकपथमा सरकारले हालसम्म दुई अर्ब ५० करोडभन्दा बढी लगानी गरिसकेको छ । सरकारले चालु आर्थिक वर्षमा मात्र ६० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
तर विज्ञसमेत सम्मिलित सडक विभाग र कान्ति लोकपथको प्राविधिक टोलीले ललितपुरबाट हेटौँडासम्म ९२ किलोमिटर सडकको करिब ४० किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ ।
सरकारले कान्ति लोकपथमा गरेको अर्बौं लगानी खेर जाने देखिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा भएपछि प्रदेशका करिब ७ जिल्लालाई हेटौंडा आउने उपयुक्त सडकको रुपमा यसलाई मानिएको थियो । यस सडकलाई मुख्यमन्त्री डोरमणि पौडेलले पनि तत्काल पूर्णरुपले सञ्चालनमा ल्याउने बताएका थिए ।
कान्ति लोकपथका विभिन्न क्षेत्र पहिरोको उच्च जोखिममा रहेको प्राविधिक प्रतिवेदनसँगै लगानी खेर जाने संकेत देखिएको हो । आयोजनाका प्रवक्ता एवं इन्जिनियर अमिन्द्र खड्काले ललितपुरदेखि हेटौँडासम्मका विभिन्न स्थानको सडक उच्च जोखिममा रहेको देखिएको बताए ।
उनका अनुसार तीनपाने, नयाँगाउँ, छपेली, काल्चेभी, सिमातहुँदै मकवानपुरगढीसम्मको ४० किलोमिटर सडक पहिरोको उच्च जोखिममा रहेकाले वैशाखदेखि असोजसम्म सवारी साधन पूर्णरूपमा सञ्चालनमा आउन नसक्ने देखिएको छ ।
सडक बाह्रै महिना सञ्चालनमा आउन सक्ने बनाउन निकै ठूलो लगानी गरेर विदेशी प्रविधिको प्रयोग गर्नुपर्ने पनि प्रवक्ता खड्काले बताए । हालसम्म ७० प्रतिशत काम सकिएको कान्ति लोकपथको पाँच किलोमिटर क्षेत्र पहिरोकै कारण कालोपत्रे गर्न नमिल्ने पनि उनले जानकारी दिए ।
उनले पाँच किलोमिटर क्षेत्रमा सामान्य वर्षा हुँदा पनि पहिरो जाने भन्दै त्यहाँ कालोपत्रे गर्ने कि नगर्ने भन्नेमा कुनै निर्णय हुन नसकेको बताए ।
स्रोतका अनुसार गत आर्थिक वर्षमा पहिरोले सडक भत्किँदा करिब ३२ करोडको लगानी बालुवामा पानी बनेको थियो । गत वर्षको बैशाखमा गरिएको कालोपत्रे असारमा भत्किएको थियो । गत वर्ष ४६ किलोमिटर कालोपत्रे गरिएको कान्ति लोकपथको यस वर्ष २७ देखि ३० किलोमिटर कालोपत्रे गर्ने योजना रहेको प्रवक्ता खड्काले जानकारी दिए ।
यसरी कान्ति राजपथ निर्माण सम्पन्न हुनै लाग्दा प्राविधिक हिसाबले जोखिमपूर्ण देखिएपछि सरकारको लगानीमाथि नै प्रश्न उठेको छ ।
६३ वर्षअघि सपना देखिएको कान्ति लोकपथ आयोजना पूर्ण हुँदा लागत तीन अर्ब ३५ करोड पु्ग्ने अनुमान गरिएको छ । सडकको कुल ९२ किलोमिटरमध्ये कान्ति लोकपथ सडक आयोजनाले ७९ किलोमिटर हेर्दै आएको छ । स्रोत: नयाँपत्रिका दैनिक