गच्छदारलाई भ्रष्टाचार मुद्दा, कांग्रेस भित्र खैलाबैला, सभापति निवासमा आकस्मिक बैठक
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे लगतै कांग्रेस भित्र खैलाबैला चलेको छ ।
साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागे पछि बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको छ ।
सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल गरिरहेको कांग्रेस स्रोतले बताएको छ ।
यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको हो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरीएको छ ।
मुद्दा दायर भएकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पूर्वाग्रह साधेर आफ्ना उपसभापति माथि मुद्दा लगाइएको प्रतिक्रिया दिएका थिए ।
त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अख्तियारको निर्णयले संशय उब्जाएको प्रतिक्रिया दिएका छन् ।
पार्टीको तर्फबाट भने औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ ।