दुई टुक्रा पारेको अवस्थामा एक महिलाको शव फेला
पोखरा महानगरपालिका- १३ आर्बामा दुई टुक्रा पारेको अवस्थामा एक महिलाको शव फेला परेको छ । सोमबार साझ अन्दाजी ४० बर्षीया महिलाको शव दुई टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इन्स्पेक्टर थापाका अनुसार स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५/४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको छ ।
शवको पहिचान भने हुन सकेको छैन । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।