अमेरिका पठाईदिन्छु भन्दै ६० लाख ठगी गरेको आरोपमा दुईजना पक्राउ
६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामालाई पक्राउ गरेको हो ।
नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमिबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।