कोरोना नियन्त्रणका लागि प्रदेश सरकारको आकस्मिक बैठक

बागमती प्रदेश सरकारले कोरोना भाईरसका बिषयमा छलफलका लागि आकस्मिक बैठक बसेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार साँझ सवा ५ बजे कोरोना भाईरसका बिषयमा छलफलका लागि आकस्मिक बैठक बसेको हो ।
बैठकमा प्रदेशभित्र कोरोना भाइरसको नियन्त्रण, भाइरसको रोकथाम, भाइरस बारे जनस्तरमा चेतना प्रवाह गर्ने जस्ता विषयमा छलफल भएको मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेल, सबै मन्त्रालयका मन्त्रीहरु, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, पत्रकारहरु लगायतको बैठक बसेको जनाइएको छ ।
कोरोना भाइरसको विषयमा प्रदेशसभा बैठकमा पनि प्रदेश सांसदहरुले गम्भिर भएर यसको नियन्त्रण र रोकथामको लागि प्रदेश सरकार लाग्नु पर्ने बताएका थिए ।
सांसदहरुले प्रदेशको सीमाना चीन र भारतसँग जोडिएकाले यस बिषयमा गम्भीर हुन प्रदेश सरकारलाई समेत आग्रह गरेका थिए ।
देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल प्रदेश भित्रै पने भएकाले विमानस्थलमा स्वास्थ्य संयन्त्रलाई कडाईका साथ विशेष चिकित्सक टोली सहितको स्वास्थ्य परीक्षण कक्ष संचालन गर्न सरकारलाई आग्रह गरेका थिए ।