महँगोमा मास्क बेचेको वा लुकाएको पाइएमा तीन लाख रुपैयाँसम्म जरिवाना र मुद्धा
मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइएमा ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।
उनका अनुसार उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिवाना तिराउने र मुद्दा चलाईने छ । गएको मङ्गलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न पनि थालेको उनले बताए ।
मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ । यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच÷पाँच हजारका दरले जरिबाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिएका छन् ।
त्यस्तै अन्य आठ वटा फर्मलाई सचेत गराइएको पनि उनले बताए । यसैबीच चीन र भारतले कच्चा पदार्थ आपूर्ति नगर्ने निर्णय गरेकाले हुन सक्ने सम्भावित अभाव आपूर्ति कसरी गर्ने भन्ने बारेमा सरकारले बिहीबार सम्बन्धित निकायसँग छलफल गर्ने भएको छ ।