प्रहरीले बरामद गरेका १० लाख बढी मास्क सार्वजनिक संस्थाबाट वितरण गर्न निर्देशन
महान्यायाधिवक्ता कार्यालयले प्रहरीले बरामद गरेका १० लाख बढी मास्क सार्वजनिक संस्थाबाट वितरण गर्न निर्देशन दिएको छ।
महान्यायाधिवक्ता कार्यालयका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई पत्र पठाउँदै कालोबजारीबाट बरामद भएका मास्कलाई साझा स्वास्थ्य सेवा जस्ता सार्वजनिक संस्थाको माध्यमबाट वितरण गर्न निर्देशन दिएका हुन्।
ती बरामद गरिएका मास्क र नमूना सहितको अभिलेख र फोटो सहितको डिजिटल मिसिलमा राख्नसमेत निर्देशन दिइएको छ ।
उक्त पत्रमा बरामद भएका मास्क मुद्दाको कारबाहीको क्रममा मुद्दा हेर्ने निकायमा दशी स्वरूप पेश गर्दा बजारमा मास्कको अभाव भइरहने र अहिलेको परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा सार्वजनिक हित एंव जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई उक्त सार्वजनिक संस्थामार्फत् वितरण गराउन निर्देशन दिइएको छ, उल्लेख गरिएको छ ।