सीमा नाकामा भारतबाट फर्कनेको लर्को, एकैदिन तीनहजार बढी भित्रिए

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २१:१८
;

पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट फर्कनेहरूको लर्को लाग्‍न थालेको छ। भारतमा कोरोनाको संक्रमण फैलिएपछि मजदुरीका लागि भारत गएकाहरू डरका कारण फर्कन थालेका हुन्‌।

गड्डाचौकी नाका भएर दैनिक तीनदेखि पाँच हजारको संख्यामा भारतबाट मानिसहरू नेपालतर्फ आइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। बुधबार मात्रै सीमा नाका भएर ३,१०१ जना भारतबाट नेपाल फर्केका छन।

बिहीबार विहान मात्रै छ सय जना भारतबाट नेपाल आएका छन। 'हेल्थ डेस्क'मा हालसम्म ३६ हजारको स्वास्थ्य जाँच गरिएको छ। भारतबाट फर्कनेहरु सबैको सीमा नाका रहेको 'हेल्थ डेस्क'मा थर्मल स्क्यानरको सहायताले चेकजाँच भैरहेको छ।

भारतबाट फर्कनेहरूलाई चेकजाँचपछि मात्रै नेपाल छिर्न दिने गरिएको छ। हालसम्म सीमा नाका भएर फर्केका कसैमा पनि कोरोनाका लक्षण भने देखा परेको छैन। भारतबाट नेपाल आउनेको संख्या बढिरहँदा भारततर्फ पनि मानिसहरू फाट्टफुट्ट गइरहेका छन्‌। दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि सीमावर्ती भारतीय बजार वनबासा जानेहरुको संख्या समेत घटेको छैन।

यसैबीच भारतले सीमा नाका वनबासामा स्वास्थ्य जाँचमा कडाई गरेको छ। मास्क नलगाएका व्यक्तिलाई भारतीय स्वास्थ्य अधिकारीहरुले फिर्ता पठाउने गरेका छन्‌। नेपालस्थित भारतीय दुतावासाका अधिकारी निरज कुमार जायसवालले बुधबार भारतीय सीमा नाकामा राखिएको 'हेल्थ डेस्क' को अवस्थाबारे जानकारी लिएका छन्‌। स्वास्थ्यमा कडाई गर्न अधिकारी जायसवालले डेस्कमा कार्यरत चिकित्सक टोलीलाई निर्देशन दिएका छन्‌। 

भारतले तीन महिनासम्म लाग्ने पूर्णागिरि मेला समेत स्थगित गरेको छ। पूर्णागिरि मेलामा सहभागी हुने भारतीय श्रद्धालुहरु नेपालस्थित ब्रम्हदेव र भीमदत्तनगरमा रहेको सिद्ध बैजनाथ मन्दिरमा आउने गरेका थिए।

भारतले पूर्णागिरी मेला स्थगित गरेपछि नेपालस्थित सिद्धवैजनाथको मेला समेत स्थगित गरिएको छ। कोरोनाको संभावित जोखिमलाई कम गर्नका लागि सिद्धनाथको मेला स्थगित गरिएको भीमदत्तनगरपालिकाका प्रवक्ता हिमालय चन्दले बताए।

नगरपालिकाले सिद्धनाथ मन्दिरमा 'हेल्थ डेस्क' स्थापना र हात धुने मेसिन राख्ने निर्णय समेत गरेको छ।  स्रोतः थाहाखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*