नेपाल र भारतले सबै सिमा नाका बन्द गर्ने
विश्वभर कोरोना भाईरसको संक्रमण बढदैँ गएपछि नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेको छ । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो ।
एक सातायता भएका विभिन्न छलफलपछि दुई सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका हुुन् । आज साँझ ५ बजे बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।
खुला र जोडिएका बस्ती मात्र नभएर भारतबाट नेपाल आउने आपूर्तिमा पर्ने असर र भारतबाट अहिले धमाधम स्वदेश फर्किरहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय निर्धारण गरेर निर्णय गर्ने तयारी छ ।
खुला तथा घर–बस्ती जोडिएको सीमा भएकाले पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने, तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित बन्द गर्ने तयारी सरकारको छ ।
पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने सर्तमा एउटा समयसीमा राखेर सीमामा आवतजावत बन्द गर्ने तयारी गरिएको हो ।