प्रशासनको बजार अनुगमन, कालोबजारी गरेमा तुरुन्तै कारबाही गरिने
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हेटौंडा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा बजार क्षेत्रका विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको समयमा कालोबजारी नहोस् भन्ने उदेश्यका साथ बजार अनुगमनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
अनुगमनको क्रममा कुनैपनि औषधी पसलमा स्यानिटाईजर र मास्क नभेटिएको कार्यालयले जनाएको छ ।
औषधी पसलहरुलाई तत्काल सेनिटाइजर र मास्क उपलब्ध गराउन औषधी व्यवसायी संघमार्फत् निर्देशन दिइएको जनाईएको छ ।
बजारका खाध्यान्न पसलहरुमा मुल्ससूची नराखी चर्को मुल्यमा सामान विक्रि गरिरहेको पाइएपछि मुल्यसूची राखी सुपथ मुल्यमा खाध्यान्न र ग्यास बेच्न समेत व्यवसायीहरुलाई निर्देशन दिईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अनुगमनको टोली जुनसुकै बेला आउनसक्ने सुपथ मुल्यमा सामानको विक्रि वितरण गर्न गराउन सबैमा आग्रह गरेका छन् । यस महामारीमा कसैले कालोबजारी गरेको सूचना आए तुरुन्तै कारबाही गरिने बताएका छन् ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडा उपमहनगरपालिका, जिल्ला उपभोक्ता समिति र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।