नगरकोटका होटललाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

नगरकोटका होटललाई सरकारले क्वारेन्टाइन बनाउने तयारी गरेको छ । बुधबार विहान नगरकोटका होटल व्यवसायीसँग छलफल पछि सरकारले होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको हो ।
पर्यटनमन्त्री योगेश भट्टराईसहितको टोलीले व्यवसायी संगको छलफल पश्चात होटलका दुई हजार वटा कोठालाई प्रयोग गरी क्वारेन्टाइन बनाउने कामको तयारीमा सरकार लागेको हो ।
कोरोना भाइरसको संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नु परेमा नगरकोट उपयुक्त हुनसक्ने ठहर गर्दै सरकारको तयारी थालेको हो ।
मन्त्री भट्टराईसंगको छलफलमा व्यवसायीले होटललाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने प्रतिबधता व्यक्त गरेका छन् ।
सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा समिति नै बनाएको छ । यो समितिले काठमाडौंमा ५ हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ ।
यस्तै मन्त्री भट्टराई नेतृत्वको टोलीले दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ ।
त्यहाँ दुई सय वटा आइसोलेसन वेड बनाउन सकिने बताइएको छ । तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरणहरु चाहिने अस्पतालले बताएको छ ।