कोरोना जाँच्नेलाई गाउँपालिकाको ५ हजार नगद सहित एम्बुलेन्स सुविधा, गाउँपालिका जाने सबै नाका बन्द

मकवानपुरको राक्सिराङ गाउँपालिकाले कोरोना भाइरसको संक्रमण जाच्न जानेलाई अनिकालको चपेटामा परेका चेपाङ एम्बुलेन्स सेवा र नगद पाँच हजार दिने निर्णय गरेको छ ।
चेपाङ समुदायलाई लक्षित गरी गाउँपालिकाले कोरोनाको संक्रमणको जाँच गराउने व्यक्तिलाई निःशुल्क रुपमा सेवा दिने उद्देशका साथ नगद पाँछ हजर सहित एम्बुलेन्स भाडा छुट गर्ने दिने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणले गाउँपालिकामा अनिकालग्रस्त अवस्था बन्न सक्ने भएकोले यो सुबिधा उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले जोखिम बस्तीमा कोरोनाको संक्रमणको आशंका भएमा स्थानिय स्वास्थ्य संस्थाको सिफारिसमा सरकारले तोेकेको अस्पतालमा कोरोना जँचाउने चेपाङ बिरामीका लागि यस्तो निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताए ।
‘अनिकालले थिलो थिलो भएको बस्तीमा कोरोनाको उपचार गर्न जाने पैसा पनि हुँदैन, एम्बुलेन्स चढ्न सक्ने हैसियत पनि हुँदैन’, अध्यक्ष मल्लले भने–‘यस्तो बेला स्थानीय सरकारले उनीहरुको पीडामा सहायता गर्नका लागि हामीले निर्णय गरेका छौँ ।’
गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि २५ लाख रुपियाँको कोष समेत खडा गरिसकेको छ ।
यसअघि नै हरेक स्वास्थ्य संस्थामा हेल्प डेस्क स्थापना गर्ने, आवश्यक औजारहरु खरिद गर्ने निर्णय भइसकेको छ ।
गाउँपालिका भित्रिने मनहरी–प्याङ्चे–चैनपुर सडक खण्ड समेत बन्द गरिएको छ भने सिमपानी–सरिखेत खण्ड पनि बन्द छ । राक्सिराङ गाउँपालिका भित्रने सबै सडकहरु बन्द गरेर राक्सिराङलाई नाकाबन्दी झैँ गरेर कोरोना भाइरसको जोखिम व्यवस्थापन गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष मल्लले जानकारी दिए ।