भन्सारबाट नै वेपत्ता पारिएको थर्मल गन खोज्दै प्रहरी

कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा व्यवसायीले सेवाग्राहीलाई सहयोग गर्नुपर्नेमा उल्टै कालोबजारीमा उत्रिएपछि आम जनतामा व्यवसायीप्रति पुनः अविश्वास पैदा भएको छ । जसको ताजा उदाहरण हुन् सुलभ अग्रवाल ।
सुलभले ओम्नी ग्रुपका लागि स्वास्थ्य सामग्री ल्याउन सरकारले चार्टर्ड गरेको नेपाल एयरलायन्सको जहाजले चैत २० गते बीस हजार थर्मल गन पनि ल्याएको थियो । तर, प्रहरीले सूचना पाउनु अगाडि नै उक्त बीस हजार थर्मल गन गायब पारिइसकिएको थियो ।
भन्सारमा हेर्दा उक्त सामग्री सुलभ अग्रवालले ल्याएको खुलासा भयो, तर उनले बीस हजार थर्मल गन ल्याए पनि १२ सय वटाको मात्रै भन्सार तिरिएको समेत पाइयो ।
यो विषयमा प्रहरीले जानकारी पाउनसाथ ठूलै रहस्य ठान्यो, त्यसपछि अनुसन्धान सुरु गर्यो । यसैबीच ग्राहक बनेर सुलभसँग डिल गर्यो र बार्गेनिङपछि १५ हजार रुपैयाँमा कुरा मिलाइयो ।
त्यसपछि कुटनीतिक प्रयोजनको गाडीमा थर्मल गन लिएर सुलभ आफै आए, सोही क्रममा उनी प्रहरी नियन्त्रणमा परे ।
भन्सारमा सुलभले प्रतिगोटा थर्मल गनको मूल्य बीस अमेरिकी डलर ९करिब २३ सय रुपैयाँ० देखाएका छन् । प्रहरी अनुसन्धानका अनुसार त्यस आधारमा सुलभले बीस हजार थान थर्मल गनको पाँच करोड रुपैयाँ तिरेका छन् ।
तर, उनले प्रतिगोटा १५ देखि २२ हजारसम्ममा थर्मल गन बेचेको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । प्रहरीसँग डिल गरेको १५ हजार रुपैयाँलाई नै आधार मूल्य मान्ने हो भने पनि २० हजार थर्मल गनको मूल्य ३० करोड रुपैयाँ हुन आउँछ । जसबाट २५ करोड रुपैयाँ भन्दा बढी नाफा हुन्छ ।
सुलभले ती सबै थर्मल गनहरु बिक्री गरिसकेको प्रहरी अनुसन्धानमा उल्लेख गरिएको छ । कोरोना संक्रमणका कारण विश्वनै आक्रान्त बनिरहेको समयमा शंकर ग्रुपमा सुलभ अग्रवाल कालोबजारी गर्ने क्रममा रंगेहात प्रहरी नियन्त्रणमा परेसँगै ठूला व्यापारिक घरानातिर प्रहरीको ध्यान केन्द्रित भएको छ ।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले कुनै दबाब नदिएको प्रष्ट पार्नु भएको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै राज्यमन्त्री दुगडले अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले कुनै भूमिका निर्वाह नगरेको प्रष्ट पार्नु भएको छ ।
स्रातः न्युज 24