फुटबल स्टार लियोनल मेसी गलत समाचारले हैरान

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १३:४८
;

 अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी आफूसँग जोडिएर आएका गलत समाचारले हैरान भएका छन्। उनले एकपछि अर्को गलत समाचारको खण्डन गर्दै आएका छन्। बिहीबार राति मात्र उनले आफूसँग जोडिएर आएका दुईवटा समाचारको खण्डन गरेका छन्।

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर मेसीले एकपछि अर्को गलत समाचार आएपछि आफु दुःखी भएको प्रतिक्रिया पनि दिएका छन्। केही दिनअघि ब्राजिलका पूर्वखेलाडी रोनाल्डिन्होलाई कारागारबाट मुक्त गराउन आवश्यक पर्ने धरौटीको रकम मेसीले उपलब्ध गराएको समाचार आएको थियो।

उक्त समाचार पहिलो पटक उनकै राष्ट्र अर्जेन्टिनाका सञ्चारमाध्यमले बाहिर ल्याएका थिए। मेसीले उक्त समाचार निराधार भएको बताएका छन्। पारागवेको नक्कली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ रोबर्टो बुधबार धरौटीमा कारागारबाट मुक्त भएका थिए।

उनीहरूले कारागारबाट मुक्त हुन १६ लाख अमेरिकी डलर धरौटी राखेका थिए। उक्त रकम उनीहरूका कानुन व्यवसायीले सरकारी कोषमा जम्मा गरेका थिए। तर, अर्जेन्टिनी सञ्चारमाध्यमले भने उक्त रकम मेसीले उपलब्ध गराएको समाचार बाहिर ल्याएका थिए।

रोनाल्डिन्होले सन् २००३ देखि सन् २००८ सम्म स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। सोही कारणले मेसीले रोनाल्डिन्होलाई रकम उपलब्ध गराएको दाबी समाचारमा गरिएको थियो। मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उक्त समाचारमा कुनै सत्यता नभएको बताएका छन्।

यसैगरी बिहीबार मात्र मेसीसँग सम्बन्धित अर्को समाचारले विश्व फुटबल तताएको थियो। उक्त समाचारमा मेसी इटालियन सिरिए क्लब इन्टर मिलानमा आबद्ध हुने तयारीमा रहेको दाबी गरिएको थियो। उक्त समाचार पनि टीएनटी स्पोर्टमै आएको थियो।

मेसीले इन्स्टाग्राममा टीएनटी स्पोर्टस्मा प्रकाशित ती दुवै समाचारको स्क्रिनसट राख्दै लेखेका छन्, ‘पहिलो : मेसी इन्टर मिलान जाने। दोस्रो : मेसीले धरौटी राख्न रोनाल्डिन्होलाई पैसा उपलब्ध गराए। यी दुवै समाचार सरासर गलत हुन्। समाचारमा कुनै सत्यता छैन।’एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*