नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको भारतीय मिडियाको अफवाह
भारतीय मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया अन्सारीले नेपालबाट भारतमा कोरोना भिœयाउन खोजेको आरोपसहित सनसनीपूर्ण समाचार दिइरहेका छन् । जब कि खुला सिमानाका कारण भारतबाट नेपालमा संक्रमण भित्रिने जोखिम बढ्दै छ । सरकार भने यो विषयमा मौन छ ।
कोरोना नियन्त्रणका लागि सरकारले भारतसँगको सीमा बन्द गरेको शनिबार २१ दिन भइसकेको छ, तर खुला र अव्यवस्थित सीमाको फाइदा उठाउँदै भारतीयहरू नेपाल भित्रिने क्रम रोकिएको छैन । जसले गर्दा नेपालमा संक्रमण फैलने जोखिम झन्–झन् बढ्दै छ ।
केही दिनयता भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । सीमा क्षेत्रकै कतिपय बस्तीमा समेत संक्रमण देखिएको छ । यस्तो वेला रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिर्ने क्रम नरोकिएपछि नेपालमा चिन्ता बढेको हो । भारतीय मात्र होइन, अन्य देशका कतिपय नागरिकसमेत अवैध रूपमा भित्रिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
अन्य मुलुकभन्दा भारतबाट आएकाहरूबाट नेपालमा कोरोना संक्रमणको जोखिम बढेको छ । खुला सिमानाका कारण विनाचेकजाँच हजारौँ नेपाली भारतबाट फर्केका थिए । जसमध्ये दुईजनालाई संक्रमण भएको पुष्टि भइसकेको छ ।
नाका बन्द गरिएपछि करिब दुई हजार नेपालीलाई भारतीय सीमा क्षेत्रकै क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै, नेपाली सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनमा पनि करिब ६ सय भारतीय छन् ।
एक हजार सात सय ५१ किलोमिटर लामो नेपाल–भारत सीमा क्षेत्र तीन हजार सशस्त्र प्रहरीको जिम्मामा छ । करिब १५–१६ किलोमिटरको दूरीमा सीमामा सशस्त्रका एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) छन् । भारतले भने करिब पाँच किलोमिटरको दूरीमा सशस्त्र सीमा बल (एसएसबी) खटाएको छ ।
नाका बन्दको वेला पनि नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रले अन्य कार्यालयबाट थप दुई हजार दुई सय ८० जनशक्ति सीमामा खटाएको छ । अस्थायी चेकपोस्टहरू बनाएर गस्ती गर्न भनिएको छ । तर, सीमापारि र वारि धेरै आफन्त रहेकाले पूर्ण रूपमा आवतजावत रोक्न समस्या भइरहेको सशस्त्रका अधिकारीहरू बताउँछन् ।
नेपाल–भारत सीमालाई व्यवस्थित गर्नुपर्ने माग लामो समयदेखि हुँदै आएको छ । तर, दुवै देशले गम्भीरतासाथ नलिँदा अव्यवस्थित र अनियन्त्रित खुला सीमा अहिले जोखिमपूर्ण बनेको छ ।
खुला सीमा व्यवस्थित गर्ने विषय अहिले टड्कारो महसुस भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । सीमा व्यवस्थापनसम्बन्धी नेपाल र भारतबीच परराष्ट्रसचिव, गृहसचिव तथा गृह मन्त्रालयका सहसचिवस्तरका तीन संयन्त्र भए पनि प्रभावकारी छैनन् । संयन्त्रका बैठकमा पटक–पटक सीमा व्यवस्थित तथा नियन्त्रित गर्नेबारे छलफल हुने गरेको छ, तर प्रगति भने केही भएको छैन ।
हरेक वर्ष बस्ने गृहसचिवस्तरको सीमा संयन्त्रको बैठक नबसेको दुई वर्ष भइसकेको छ । ‘खुला सिमाना सुरक्षा मात्र होइन, अहिलेको जस्तो महामारीको वेलामा कति जोखिमपूर्ण हुन्छ भन्ने बल्ल उजागर भयो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘अबका बैठकमा सीमा व्यवस्थापनमा यो विषयमा पनि पक्कै छलफल हुनेछ ।’
विज्ञहरू भन्छन्– कोरोनाको जोखिमलाई सीमा व्यवस्थित गर्ने अवसरमा बदलौँ
सीमित नाकाहरू मात्र सञ्चालन गरेर अब सीमामा परिचयपत्र देखाएर मात्र आवतजावत गर्ने व्यवस्था गर्नुपर्ने विज्ञहरू बताउँछन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले अहिले कोरोना संक्रमणबाट पाठ सिकेर नेपाल–भारत सीमा व्यवस्थित गर्नुपर्ने बताए । ‘कोरोना संक्रमणको चुनौतीलाई सीमा व्यवस्थापन गर्ने अवसरमा बदल्नुपर्छ,’ उनले भने, ‘महामारी सकिएलगत्तै परिचयपत्र सिस्टम लागू गर्नुपर्छ । यसले घुसपैठ पनि बन्द हुन्छ, अभिलेख सिस्टम पनि सुरु हुन्छ ।’ भारतसँग सल्लाह नगरी नेपालले परिचयपत्र सिस्टम लागू गर्न कुनै सन्धि तथा सम्झौताले नरोक्ने श्रेष्ठको भनाइ छ ।
सीमा व्यवस्थित नगरे भोलिका दिनमा नेपाल–भारत दुवैलाई थप समस्या हुन सक्ने नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीको भनाइ छ । ‘सीमामा तारबार लगाएर हुन्छ कि सुरक्षा पोस्ट बढाएर हुन्छ, नियन्त्रण गर्न अत्यावश्यक भइसकेको छ,’ उनले भने, ‘खुला सीमा आतंकवादी गतिविधि नियन्त्रणमा मात्रै होइन अब प्रकोपको वेला पनि चुनौती बनेको छ ।’
खुला सीमा व्यवस्थित गर्न सुझाब दिनेसहितको जिम्मेवारी दिएर नेपाल–भारतले प्रबुद्ध समूहसमेत गठन गरेका थिए । समूहले प्रतिवेदन तयार गरे पनि दुवै देशका सरकारले बुझेका छैनन् । रिपोर्टमा निश्चित सीमानाका मात्र खुलाउनुपर्ने र परिचयपत्र सिस्टम लागू गर्न सिफारिस गरिएको नेपालतर्फका एक सदस्यले बताए । ‘करिब ७० वटा नाका मात्र खोल्न सिफारिस गरिएको छ,’ ती सदस्यले भने, ‘अब दुवै देशले तत्कालै प्रतिवेदन कार्यान्वयन गरेर सीमालाई व्यवस्थित बनाउनुपर्छ ।’
तीन हजार सशस्त्रको भरमा सीमा सुरक्षा
एक हजार सात सय ५१ किलोमिटर लामो नेपाल–भारत सीमा जम्मा तीन हजार सुरक्षाकर्मीको जिम्मामा छ । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई खटाएको छ । भारतसँगको सीमामा सशस्त्रका एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) छन् । जहाँ करिब तीन हजार प्रहरी कार्यरत रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए ।
‘हाम्रो करिब १५–१६ किलोमिटरको दूरीमा बिओपी छ,’ श्रेष्ठले भने, ‘लामो एरिया हेर्नुपर्ने अवस्था छ ।’ सशस्त्रको मुख्य जिम्मेवारी सीमा सुरक्षा भए पनि थोरै मात्र जनशक्ति त्यसमा खटाइएको छ । राजमार्ग सुरक्षा, औद्योगिक क्षेत्रको सुरक्षाजस्ता काममा पनि सशस्त्रलाई खटाइएको छ । आधाजसो जनशक्ति सीमामै खटाउनुपर्ने सशस्त्रका एक पूर्वमहानिरीक्षकले बताए ।
भारतले करिब पाँच किलोमिटरको दूरीमा सशस्त्र सीमा बल (एसएसबी) खटाएको छ । सीमा बन्दको वेला पनि साना नाकाहरूबाट भित्रिने क्रम नरोकिएपछि अन्य कार्यालयबाट दुई हजार दुई सय ८० जनशक्ति सीमामा थप गरिएको छ । अस्थायी चेकपोस्टहरू बनाएर सशस्त्रलाई गस्ती गर्न भनिएको छ । तर, सीमापारि र वारि धेरै आफन्त रहेकाले पूर्ण रूपमा आवतजावत रोक्न समस्या भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
के हो जालिम मुखिया प्रकरण ?
भारतीय मिडियाले सशस्त्र सीमा बल र बिहारको स्थानीय प्रशासनबीच भएको पत्राचारको आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया अन्सारीको तस्बिरसहित निन्दा गरिरहेका छन् । नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको आरोप लगाइरहेका छन् । तर, नेपाल सरकारले अहिलेसम्म यसबारे भारतसँग औपचारिक रूपमा न कुनै प्रश्न सोधेको छ न त भारतले नेपाललाई नै औपचारिक जानकारी गराएको छ ।
नेपाली गृह अधिकारीहरूले अनौपचारिक रूपमा बुझ्दा भारतीय अधिकारीले सुरक्षा निकायले गरेको आन्तरिक चिठीपत्र र सुरक्षाको आन्तरिक आकलन मात्र भएको र त्यसको सत्यतामाथि एसएसबीले छानबिन गरिरहेको जवाफ दिएका छन् । जालिमले भने संकटका वेला भारतका विभिन्न गिरोहले सञ्चारमाध्यम प्रयोग गरेर नेपालमा मुस्लिम र हिन्दूबीच साम्प्रदायिक सद्भाव भड्काउन खोजेको आरोप लगाएका छन् ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको भारतीय सुरक्षा मूल्यांकन पत्र गृह मन्त्रालयमा पठाएर जालिमका बारेमा आएका समाचारको जानकारी दिएको बताए । उनले भने, ‘हामीले गृह मन्त्रालयलाई समाचारमा सार्वजनिक भएको विषयबारे जानकारी दिएका छौँ । गृहले हामीलाई थप केही भनेको छैन, हामीलाई औपचारिक रूपमा भारतीय अधिकारीले पनि केही भनेका छैनन् ।
गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भने संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको बताए । ‘यो मूर्खतापूर्ण विश्लेषण हो । मिडियाले पनि त्यसैलाई आधार मानेर नेपालविरुद्ध षड्यन्त्र गरिरहेका छन् । हामीलाई नलाग्ने, हामीले कोरोना भारतमा पठाउन सक्ने भन्ने पनि कुनै तर्क हो ? मलाई भारतीय मिडियाले भाइरस उत्पादक भएजसरी चित्रण गरिरहेका छन् । संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको छ । यसलाई बुझ्नुपर्छ,’ उनले भने ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार एसएसबीका अफिसरले आफूभन्दा माथिल्लो निकायमा पठाएको नियमित ब्रिफिङको पत्र हो त्यो । आन्तरिक पत्र लिक भएको विषयमा एसएसबीले अनुसन्धान गरिरहेको जानकारी पाएको ती अधिकारीले बताए । परराष्ट्रका अधिकारीहरू यो विषयमा भारतसँग भएका छलफल वा चासोबारे औपचारिक प्रतिक्रिया दिन मान्दैनन् ।
अध्यक्ष जालिम मुखियाले आफू घरमै रहेको र कहीँबाट असुरक्षा नभएको बताए । उनले भने, ‘भारतीय मिडियाले मेरो बदनाम गरे । मलाई कहीँकतैबाट धम्की वा असुरक्षा भएको छैन । त्यस्ता अफवाहका पछाडि लाग्नु हुँदैन भन्ने मलाई लाग्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।