लकडाउनको अवधि १२ दिन थप गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो । आज मंगलबार बसेको बैठकले वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णयसमेत गरेको हो ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
अहिले सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्।
नेपालमा पहिलोपटक गत गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । पहिलो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।