कोरोनाको कारण ४० जनाको मृत्यु हुँदा समेत रोकिएन लिग
युरोपका एक राष्ट्र बेलारुसमा फुटबल लिग जारी छ । कोरोनाभाइरसका कारण विश्वका धेरैजसो देशहरुमा पछिल्लो एक महिनादेखि कुनै खेल गतिविधि भएका छैनन् । युरोपमै कोरोनाले आक्रान्त बनाए तापनि फूटबल लिग भने जारी रहेको छ ।
बेलारुसले कोरोनाभाइसरकै कारण महिला फुटबल लिग स्थगित गर्दा पुरुष फुटबल लिग भने जारी नै छ । शुक्रबारबाट सुरु हुने तय भएको सिजन २०२० को महिला लिग बेलारुस फुटबल महासंघले अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ ।
९५ लाख हाराहारीमा जनसंख्या भएको बेलारुसमा हालसम्म ४ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ४० जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोनाको सन्त्रास बढ्दै गएपनि फुटबल लिग हेर्न बेलारुसमा हजारौँ व्यक्ति रंगशालामै पुगिरहेको रिपोर्टमा उल्लेख गरिएको छ । पछिल्लो महिना मात्र बेलारुसमा दर्शकसहित आइस हक्की प्रतियोगिता सम्पन्न भएको थियो ।
बेलारुसका खेल तथा पर्यटन मन्त्री सर्जेई कोवालचुकले लिग रोक्ने कुनै आधार नभएको बताएका छन् । उनले महिला लिग स्थगित गर्नुपूर्व यस्तो बयान दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।