पुनः बार्सिलोना फर्कन आतुर छन् जाभी
स्पेनिस राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले आफू फरक भूमिकामा बार्सिलोना फर्कन चाहेको बताएका छन् । ४० वर्षीय जाभीले आफ्नो व्यवसायिक खेलजीवनको निकै लामो समय स्पेनिस ला लिगा क्लब बार्सिलोनामा बिताएका थिए । उनले आफू पुनः बार्सिलोना फर्कन आतुर रहेको बताएका छन् । तर, यसका लागि उनले एउटा सर्त पनि अघि सारेका छन्।
जाभीले आफू प्रशिक्षकको भूमिकामा क्याम्प नोउ फर्कन इच्छुक रहेको बताए । उनले आफू बार्सिलोनाको स्थायी प्रशिक्षकको रूपमा कार्य गर्न सक्षम रहेको दाबी पनि गरेका छन् ।
जाभीले बार्सिलोनाको युवा टोलीबाटै आफ्नो खेलजीवन सुरु गरेका थिए । सन् १९९८ मा बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाएका जाभीले त्यसपछि लगातार १८ वर्ष त्यहीँ बिताएका थिए । उनले आफ्नो व्यावसायिक खेलजीवनको अन्त्य भने कतारी क्लब अल सादबाट गरेका थिए । सन् २०१५ मा अल सादमा आबद्ध भएका जाभी सन् २०१९ सम्म त्यहाँ रहे ।
त्यतिबेला उनले नयाँ चुनौतीको सामना गर्न आफू बार्सिलोना छाडेर कतारी क्लबमा आबद्ध भएको बताएका थिए । हाल उनी कतारी क्लब अल सादकै प्रशिक्षकको रूपमा सक्रिय छन् ।
आफ्नो १८ वर्ष लामो बार्सिलोना बसाइका क्रममा उनले क्लबका लागि सात सयभन्दा बढी खेल खेलेका थिए । आफ्नो समयका प्रभावशाली मिडफिल्डर जाभीले बार्सिलोनालाई २५ वटा महत्तवपूर्ण उपाधि चुमाएका थिए । बार्सिलोनालाई आठवटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि उनको महत्तवपूर्ण भूमिका रहेको थियो ।
यसैगरी उनले स्पेनिस राष्ट्रिय टोलीको सदस्यका रूपमा पनि तीनवटा महत्तवपूर्ण उपाधि जितेका थिए । स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका महत्तवपूर्ण सदस्य थिए । यसका अतिरिक्त सन् २००८ र सन् २०१२ को युरो कपमा स्पेनलाई च्याम्पियन बनाउन पनि उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
गत जनवरीमा बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भल्भार्डलाई पदबाट बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको रूपमा जाभीको नाम पनि चर्चामा आएको थियो। जाभीले पनि आफूलाई बार्सिलोनाबाट प्रशिक्षकको लागि प्रस्ताव आएको स्विकारेका थिए। त्यतिबेला उनले बार्सिलोनाको प्रशिक्षक बन्न आफू अझै तयार नरहेको बताएका थिए। तर, अहिले अप्रत्याशित रूपमा उनले पुनः आफू फरक भूमिकामा बार्सिलोना फर्कन तयार रहेको बताएका छन्।