थाहामा उत्पादनमा लगाउदै मेयर विष्ट, दैनिक काम गरे बापत राहतमा ज्याला र खाद्यान्न

कोरोना नियन्त्रण तथा रोकथामका प्रयासमा मकवानपुरको थाहा नगरपालिकाले नगरवासीसंग प्रत्यक्ष जोडिएका विभिन्न काम गरिरहेको जनाएको छ ।
नगरपालिकाले कोरोना नियन्त्रणका लागि विभिन्न नमुनायोग्य काम समेत गरिरहेको बताईएको छ । स्थानीयका अनुसार नगरपालिकाले कोरोना प्रभावितका लागि वितरण गरिने राहत प्याकेजमा समेत रचनात्मक रुपमा काम गरिरहेको छ । नगरपालिकाले कोरोना प्रभावित व्यक्ति तथा परिवारलाई राहत प्याकेजको रुपमा दैनिक काम लगाएर ज्याला स्वरुप ५ सय रुपैया र ९ किलोग्राम चामल दिने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
मकवानपुरको उत्तरी भेगमा अवस्थित थाहा नगर पर्यटन र कृषिमा निर्भर रहेकाले नगरपालिकाले कोरोना प्रभावित परिवारलाई कृषि कार्यमा प्रेरित गर्न राहत स्वरुप सो प्याकेज ल्याएको नगर प्रमुख लवशेर विष्ट बताएका छन । प्रमुख विष्टका अनुसार नगरापालिका क्षेत्र कृषिको वैकल्पिक अर्को श्रोत नभएकालाई नगरक्षेत्र भित्रको बाँझो जमीनमा खनजोतको व्यवस्था मिलाएको छ । कृषि कार्य गर्न उत्साह पनि मिलोस् भनेर सो प्याकेजको सुरुवात गरेको बताईएको छ ।
तत्कालका लागि २ वटा वडाका खेतीयोग्य बाँझो बारीमा काममा लगाएर उत्पादनशीलता तर्फ अग्रसर गराउने र सो कार्य अन्य वडामा पनि लागू गर्ने लक्ष्य रहेको छ ।