रिपोर्ट ढिलाइ भएपछि क्वारेन्टाइन तोडफोड

सलार्ही । सर्लाहीको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरु आक्रोशित भएका छन् । सलार्हीको विभिन्न क्वारेन्टाइनमा बसेकाहरु पीसीआर रिपोर्ट आउनमा ढिलाईपछि आक्रोशित हुन थालेका हुन् ।
सलार्हीको गोडैता नगरपालिकाको क्वारेन्टाइनमा बसेककाहरुको स्वाब लिएको ९ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट नआएपछि उनीहरु आक्रोशित बनेका छन् । कोरोना भाइरसको परीक्षण गर्नका लागि जेठ १६ गते स्वाब कलेक्शन गरिएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि उनीहरु क्वारेन्टाइन छाडेर भाग्ने थालेका छन् ।
कतिपयले त स्वास्थ्यकर्मीलाई दुःख दिने, खानेपानीको पाइपमा ढुङ्गा हाल्ने, ढुङ्गा मुठा गर्ने जस्ता गतिविधि गर्न थालेको नगरपालिकाले जनाएको छ ।
पीसीआर रिपोर्ट आउनमा ढिलाइ भएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित बनेका छन् । नगरपालिकाका अनुसार जेठ १६ गते नै २ सय ९१ जनाको स्वाब कलेक्शन गरेर पठाइएको थियो । तर, अहिलेसम्म रिपोर्ट आएको छैन ।
रिपोर्टमा ढिलाइ भएपछि बिहीबार मात्रै मधुवनी क्वारेन्टाइनमा बसेका १० जना भागेका थिए । घर पुगेपछि फेरि प्रहरी पुगेर उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । सीमराको विद्यालयमा बसेकाहरु शुक्रवार राति तोडफोड गर्न थालेपछि स्वास्थ्यकर्मी क्वारेन्टाइन छोडेर भागेका थिए । गोडैता बजारको विद्यालयमा बसेकाहरु शुक्रबार बिहान स्वास्थ्यकर्मी माथि नै ढुङ्गा मुठा गरेको थियो ।