निजी र सार्वजनिक सवारीको लाईसेन्स नै फरक हुने

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सवारी चालक अनुमतिपत्र अझ व्यवस्थित गर्न मापदण्ड बनाउन निर्देशन दिएको छ । समितिले निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी मापदण्ड र नियम बनाई कार्यान्वयन गर्न समेत सरकारलाई निर्देशन दिएको छ । निर्देशन कार्यान्वयन भएमा निजी सवारी र सार्वजनिक सवारी चालक अनुमतिपत्र नै फरक हुने जनाईएको छ ।
समितिको आज बसेको बैठकले आवश्यक जनशक्ति परिपूर्ति गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले कामेरानाको कारण भएको लकडाउनबाट सवारी साधन नचलेकाले करमा सहुलियत दिन, बैंक तथा वित्तीय संस्थाको ऋण ब्याजमा पुनर्ताजगी गर्ने, पुनःकर्जा दिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकले काठमाडौं सहित अन्य शहरलाई धुलो न्युनिकरण गर्न प्रबेश गर्ने नाकामा वासिङ्ग सेन्टर बनाउने, भारतीय नम्बरका सवारी साधनको निर्वाध आवतजातलाई नियमन गर्ने, जिपीएस ट्यापिङ्ग लगायतका नयाँ प्रविधि ब्यवस्था गर्न समेत निर्देशन दिएको छ ।