मनहरीका पाँच जना प्रहरी नियन्त्रणमा

मकवानपुर । पर्सा प्रहरीले मनहरीका पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध गाँजा ओसारपसारमा संलगन रहेको आरोपमा मकवानपुरको मनहरी गाउँपालिका–६ का पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
मकवानपुरबाट गाँजा लगेर पर्साको ठोरी नयाँवस्तीमा कारोबारीलाई गाँजा जिम्मा लगाएर अटोमा फर्किदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मनहरी–६ का स्थानीय ५० वर्षीय घनबहादुर तामाङ, २० वर्षीय रामबहादुर तामाङ, ४३ वर्षीय मंगलसिंह रुम्बा, २१ वर्षीय सुबास तामाङ र २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट एक थान खुकुरी, एक थान खुर्पा, एक थान तराजु, पाँच थान मोबाइल, ३ थान टचलाइटका साथै नगद ४४ हजार १ सय १० रुपैयाँ बरामद गरेको छ ।
उक्त बरामद भएको हतिया र नगदसहित नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।