तीन जना प्रहरी निलम्बित

रौतहट । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहटमा कार्यरत तीन जना प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयले रौतहटमा कार्यरत दुई असई र एक जवान गरी तीन प्रहरी कर्मचारीलाई निलम्बित गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रेस विज्ञप्तिमार्फत तीन जनालाई निलम्बन गरिएको जानकारी गराएको छ ।
निलम्बनमा पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय देवाही गोनाही दरबन्दी भई प्रहरी चौकी ब्रह्मपुरीमा कार्यरत असई संजीवकुमार झा, इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित शाह र सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजरा रहेका छन् ।
असई शाह र जवान हजरा उपर गत हप्ता ईशनाथको औरैयामा एक जना हुन्डी कारोबारीबाट बरामद भएको रकमभन्दा कम देखाएर बाँकी रकम लुकाएको आरोप लागेको थियो भने प्रहरी चौकी ब्रह्मपुरीका इन्चार्ज असई झा मध्यरातमा एक जना महिलासित आपत्तिजनक अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
