कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल । रुपन्देहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति बुटवल–भैरहवा सडकखण्डको ड्राइभरटोलमा आफैले चलाएको कार दुर्घटनामा न्यूज २४ मा कार्यरत पत्रकारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तिलोत्तमा–६ मा बस्दै आएका न्यूज २४ मा कार्यरत पत्रकार कृष्ण पाण्डे रहेको प्रहरीले जनाएको छ ।
गएराति बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडकखण्डको ड्राइभरटोलमा सडकको डिभाइडर र रेलिङमा आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा बुटवलको चौराहा हस्पिटलमा मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत ३० वर्षीय पाण्डे हाल प्रदेश ५ को व्युरोको जिम्मेवारी पनि सम्हालिरहेका थिए ।