हेटौंडाकी सुस्मिता हत्यामा संलग्न प्रहरीद्वारा सार्वजनिक (भिडियोसहित)

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले सुस्मिता थापाको हत्यामा मृतककै ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
गत असार २ गते हेटौंडा–४, सूर्यचौकमा भएको महिला हत्यामा संलग्नलाई आज मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो ।
करीब ९ महिना अघि सवारी दुर्घटनामा छोरा रुपेन्द्र थापाको मृत्यु भएपछि बुहारीलाई घरका सदस्यहरुले मानसिक यातना दिने र ससुरा प्रकाश थापाले यौन दुव्र्यवहारको प्रयास गर्ने गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रहरीले हत्याको कारण यौन दुव्र्यवहारको घटना लुकाउन र दुर्घटनामा छोराको ज्यान गएपछि पाउने क्षतिपूर्ति, छोराले काम गर्ने कार्यालयबाट आउने करीब ४० लाख रुपैयाँका बुहारी सुस्मिताको हत्या गरेको जनाएको छ ।
प्रहरीका अनुसार मृतक सुस्मिताका ससुरा प्रकाश थापाले छोराको नामबाट आउने सबै रकम आफूलाई नै दिनुपर्ने दबाब दिदैं आएको बताएको छ । दुर्घटनामा मृत्यु भएका रिपेन्द्र थापाको विमा वापतको १० लाख ६३ हजार रुपैया हत्यामा संलग्न प्रकाश थापाले लिईसकेको समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
गत असार १ गते राति खाना खाने समयमा मृतक सुस्मितालाई भान्सा कोठामा मसला पिस्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरेपछि आत्महत्या जस्तो देखाउन भान्सा कोठाको ढोका बन्द गरी झ्यालबाट निस्किएको प्रहरी अनुसन्धानले देखाएको जनाईएको छ ।
राति हत्या गरेपनि बिहान छिमेकीलाई बुहारीले भान्सा घरमा आत्महत्या गरेकोले प्रहरीलाई खबर गर्न भन्दै आएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अत्यामा संलग्नहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम क्रुर यातना दिई ज्यान मार्ने कसूरमा जन्मकैद हुने प्रावधान रहेको जनाएको छ ।
(भिडियो)