मकवानपुरको थाहानगरमा दुई लाख ९३ हजार लिटर दूध उत्पादन

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३ सय ६ कृषकले पालेको गाईभैँसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको हो ।
नगरका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
थाहा –२ को एकीकृत कृषि सहकारी संस्था लिमिटेडले चार स्थानमा स्थापना गरेको दूध सङ्कलन केन्द्रमा गरी ९७ कृषकले एक लाख १६ हजार ६४२ लिटर दूध बिक्री गरेको थाहा नगर पशु सेवा शाखाका प्रमुख राघवेन्द्र मिश्रले जानकारी दिएका छन् ।
त्यसैगरी थाहा–६ बज्रवाराहीकोे पशुपालन कृषक समूहले १०६ कृषकबाट ९५ हजार ९ सय ६९ लिटर र निजी क्षेत्रबाट सञ्चालित नन्दीकेश्वर डेरीले १०३ कृषकबाट एक लाख ४ सय ६१ लिटर दूध सङ्कलन गरेको उनले जानकारी दिए ।
बेमौसमी तरकारी खेतीका लागि देशमै ख्याति कमाएको थाहा नगरपालिकामा केही वर्षदेखि दूधका लागि व्यावसायिक पशुपालनमा जोड दिन थालिएको छ ।