मकवानपुरमा इतिहासमै पहिलो पटक एसइइमा ४ जिपीए

केही विद्यालयलाई शिक्षा इकाईद्वारा प्राप्तांकको आधार माग्यो
हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १४:४२
;

मकवानपुर । यस बर्षको एसइइ परीक्षामा मकवानपुरबाट सहभागी विद्यार्थीहरु मध्ये ५० जना भन्दा बढीले ४ जिपीए ल्याएर उत्तीर्ण भएका छन् । यस बर्ष जिल्लामा ४ जिपीए ल्याउने विद्यार्थीहरुको संख्या अनुमानित ५० भन्दा बढी भएको प्याब्सनका केन्द्रीय सदस्य मदन दहालले जानकारी दिएका छन् । दहालका अनुसार इतिहासमै पहिलो पटक जिल्लामा ४ जिपीए आएको दाबी गरेका छन् । दहाल आफै पनि यो बर्षको एसइइ परीक्षाफल प्रति सन्तुष्ट नरहेको बताएका छन् ।

अप्रत्याशित रुपमा मकवानपुरमा समेत परीक्षाफल आएपछि शिक्षा विकास तथा समन्वय इकाईले १० वटा विद्यालयहरुलाई अंक दिनुको आधार तथा पुष्ट्याई गर्ने आवश्यक कागजात माग गरेको इकाई प्रमुख लिलानाथ गौतमले बताएका छन् । गौतमका अनुसार यस बर्षको परीक्षाफलले परीक्षा बोर्डले परीक्षाफल हेर्न वा अनुगमन गर्न केही अंकुश राख्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

अघिल्लो एसइइमा देशैभरबाट सहभागी भएका मध्ये १ सय ६ जनाले मात्रै ४ जिपीए ल्याएका थिए । यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण एसइइ परीक्षा हुन सकेन र सरकारले शैक्षिकसत्रमा असर नपुगोस् भन्दै विद्यालय आफैले मूल्यांकन गरी नम्बर पठाउन सक्ने निर्णय गरेको थियो । तर विद्यालय आफैले नम्बर पठाउँदा भने परीक्षाफल अप्रत्याशित ढङ्गले आए पछि यसको चर्चा शुरु भएको छ ।

कोरोना संक्रमणको त्रासका कारण यस बर्षको एसइइ परीक्षा गर्न विद्यालयका प्रधानाध्यापक, १ जना बरिष्ठ शिक्षक र विषयगत शिक्षकको समितिले निर्धारण गरेको अंकको आधारमा परीक्षा बोर्डले यस बर्षको परीक्षाफल प्रकाशित गरेको थियो । मकवानपुरमा ९४ वटा सामुदायिक विद्यालय र ३६ वटा निजी विद्यालय रहेका छन् । मकवानपुरबाट ६ हजार २ सय १८ जना यस बर्ष एसइइ परीक्षामा सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*