थाहा नगरपालिकामा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णय

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा निषेधाज्ञा जारी गरीएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको भर्खरै सम्पन्न बैठकले थाहा नगरपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
थाहा नगरपालिकाको सिफारीसको आधारमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले नगरपालिकामा पनि भदौ ९ गते रातीसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
नगरपालिका भित्र संक्रमित देखा परेसँगै यसको रोकथामका लागि थाहा नगरपालिकाको कार्यपालिका बैठकले निषेधाज्ञाको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारीस गरेको थियो ।
थाहा नगरपालिकामा आज भदौ २ गते मंगलबार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
यसअघि नै मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा पनि ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो ।
थाहा नगरपालिकामा निषेधज्ञा जारी भएसँगै अत्यावश्यक तथा ढुवानी बाहेकका सबै सवारीसाधन बन्द हुने भएका छन् ।
तरकारी, खाद्यन्न तथा अत्यावश्यक सामग्रीको लागि बिहान ९ बजेसम्म मात्र अनुमति दिईएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए ।
निषेधाज्ञामा बैक तथा वित्तिय संस्था पनि बन्द रहने जनाइएको छ ।