थाहा नगरपालिकाको क्वारेन्टाइन रित्तियो

मकवानपुर । थाहा नगरपालिकाको क्वारेन्टाइनमा रहेका सबैजना डिस्चार्ज भएका छन् । थाहा नगरपालिकाबाट नमूना संकलन गरी पठाइएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका सबै जनालाइ घर पठाइएको हो ।
थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार पछिल्लो पटक थाहा नगरपालिकाले ५४ जनाको स्वाब पिसिआर परिक्षणका लागी नमुना छनौट गरि पठाइएको थियो । हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थाहा नगरबाट नमुना पठाइएकोमध्ये आज बिहीबार २८ जनाको, हिजो बुधबार २२ जनाको र मंगलबार ४ जना गरि सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
थाहानगरको क्वारेन्टाइनबाट नमुना संकलन गरिएको एक जना भारतीय नागरिकमा कोरोना पोजिटिभ भेटिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरेर पठाइएको थियो ।
त्यस्तै हेटौंडाको ग्लोबल आइएमई बैंकका शाखा प्रमुखमा कोरोना संक्रमण भेटिएको पछि उनको सम्पर्कमा रहेका थाहानगरका व्यक्तिहरुको पनि स्वाब संकलन गरेर पठाइएको थियो ।
यसबाहेक थाहा नगरमा भेटिएका अन्य दुईजना संक्रमितको सम्पर्कमा आएका र थाहानगर बाहिरबाट आएका व्यक्तिहरुको पनि स्वाब संकलन गरेर पठाइएको थियो । यसरी पठाइएका सबैमा कोरोना भाइरसको संक्रमण नरहेको परीक्षणले देखाएको स्वास्थ्य शाखाका प्रमुख बलामीले बताए।
थाहा नगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने निर्णय गरेसंगै हिजो थाहा नगरपालिका वडा नम्बर १ ओखरबजार क्षेत्रबाट १४ जनाको नमुना संकलन गरि हेटौडा पठाएको र सो को नतिजा आउन बाकी रहेको स्वास्थ शाखा प्रमुख बलामिले बताए ।