लापरवाहीपछि कानुनको कठघरामा त्रिविः विद्यार्थीको भविष्य अन्योलमा

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १५:०३
;

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले आफ्नै नियमविपरीत स्नातकोत्तर तहको एक परीक्षामा पाठ्क्रमबाहिरबाट प्रश्नपत्र सोध्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने त्रिविका पदाधिकारीहरु पनि कानुनी झमेलामा फसेका छन् ।

२०७५ पुस २९ गते स्नातकोत्तर तह भौतिक शास्त्रतर्फको प्रथम सेमेष्टरको नयाँ तथा पुरानो कोर्सको क्वान्टम मेकानिक्स विषयमा ४५ पूर्णाक मध्ये ४० अंकको प्रश्न कोर्सबाहिरबाट सोध्दा विद्यार्थीको भविष्य अन्योलमा परको हो ।

उक्त विषयमा परीक्षा फर्म भरेका २२ जना विद्यार्थी पुनः कोर्सबाटै प्रश्न सोधेर परीक्षा हुनुपर्ने मागसहित कानुनी लडाईँमा छन् भने १८ जना विद्यार्थी परीक्षामा सामेल भएर ट्रान्सक्रिप्ट लिएर गइसकेका छन् ।

तर ट्रान्सक्रिप्ट लगे पनि ती विद्यार्थी त्रिविका पदाधिकारीले आफ्नो गल्ती ढाकछोप गरी दिएको हुँदा र त्यही परीक्षा पुन: हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा विश्वस्त हुन सकेका छैनन् ।

पुनः परीक्षा हुनुपर्ने माग गर्ने २२ विद्यार्थी पनि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, सूचना आयोग र सर्वोच्च आउँदैमा हैरान भइसकेका छन् । त्रिविका अनुसार उक्त परीक्षामा ३८ जना विद्यार्थी भने अनुपस्थित भएका थिए ।

त्रिवि संगठन तगा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम २४६क ले पुरानो कोर्सका लागि पुरानै र नयाँ कोर्सका लागि नयाँ नै प्रश्नपत्र तयार गरी कोर्सबाहिरबाट सोध्न नपाइने व्यवस्था गरेको छ ।

उक्त नियममा भनिएको छ, ‘प्रश्नपत्र तयार गर्दा परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार नयाँ र पुरानो कोर्सको छुट्टछुट्टै प्रश्नपत्र तयार गर्नुपर्नेछ ।’

यदि फरक ढंगले प्रश्नपत्र तयार पारिएको रहेछ भने तयार गर्ने शिक्षकमाथि कारबाही हुने व्यवस्था सोही नियमले गरेको छ ।

त्यसमा भनिएको छ, ‘छुट्टाछुट्टै प्रश्नपत्र तयार गर्नुपर्ने वा नयाँ कोर्सको प्रश्नपत्र तयार गर्दा पुरानो कोर्सको पाठ्क्रमको आधारमा तयार गरेमा वा पुरानो कार्षको प्रश्नपत्र तयार गर्दा नयाँ कोर्षको पाठ्क्रमको आधारमा तयार गरेको प्रमाणित हुन आएमा त्यस्तो शिक्षकलाई विभागीय कारबाही गर्नको लागि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने छ ।’

भएको के हो?

त्रिविले २०७५ पुस २९ गते महेन्द्र रत्न क्याम्पस ताहाचलमा क्याम्पसमा उपत्यकाका लागि परीक्षा केन्द्र तोकेको थियो । परीक्षा दिन पुगेका विद्यार्थी प्रश्नपत्र हात पर्ने वित्तिकै पाठ्क्रमबाहिरबाट प्रश्न सोधिएको भन्दै केन्द्राध्यक्षको ध्यानाकर्षण गराए ।

विद्यार्थीले होहल्ला गरेपछि केन्द्राध्यक्षले कोर्षबाहिरबाट प्रश्न सोधिएको स्वीकार गर्दै परीक्षा स्थगित भएको घोषणा गरे । तर उनको घोषणा धेरै बेर टिकेन। १२ बजेका लागि तोकिएको परिक्षा डेढ घण्टा बितेपछि उनले त्यही प्रश्नपत्रमा पुनः परिक्षा दिन विद्यार्थीलाई निर्देशन दिए ।

केही विद्यार्थीले परीक्षा दिए पनि २२ जना विद्यार्थीले कोर्सबाहिरबाट प्रश्नपत्र सोधिएकाले त्यसलाई रद्द गरी पुन अर्को प्रश्नपत्र तयार पारेर परीक्षा हुुनुपर्ने माग राख्दै परीक्षार्थीहरु आशीष पौडेल, नरेश जोशी, दुर्गाप्रसाद जोशी, सुरेन्द्र सिंह ठगुन्ना, दीपक दाहाल, सञ्जिव ज्ञवालीलगायतले केन्द्राध्यक्षलाई लिखित निवेदन दिएर बाहिरिए ।

उनीहरुले त्रिवि डिन कार्यालयको समेत उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै त्यसै दिन फेरि परिक्षाको माग गर्दै निवेदन दिएका थिए ।

निवेदक आशिष पौडेलले भने, ‘विवादास्पद परीक्षा रद्द गर्न र फेरि परीक्षा गराउन परीक्षा केन्द्रका केन्द्राध्यक्ष, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालयका परीक्षा शाखा प्रमुखलाई हामीले त्यही दिन निवेदन दिएका थियौँ । तर सुनुवाइ भएन ।’

परीक्षा नियन्त्रण कार्यालयले २०७६ वैशाख ११ सार्वजनिक गरेको नतिजामा परिक्षा दिएका मध्ये ६५ प्रतिशतलाई पास गरेको थियो । र उनीहरुले प्राप्त गरेको नम्बर समेत पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोध्दा पनि अस्वभाविक देखिएको गरी ८० प्रतिशतसम्म अंक पाएका थिए ।

परीक्षाको विषयमा पटक पटक प्रश्न उठेपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीको निर्देशनमा प्राडा सीताराम भ्याउतको संयोजकत्वमा त्रिविले छानबिन समिति गठन गर्‍यो ।

उक्त छानबिन समितिले पनि परिक्षाको गोपनीयता भंग भएको, पाठ्क्रमभन्दा बाहिरबाट ४५ पूर्णाकमा ४० अंकको प्रश्न सोधिएको, परीक्षा दिने विद्यार्थीले पाएको नम्बरसमेत अस्वभाविक भएको र पुन: परीक्षा सञ्चालन गर्न सुझावसहितको प्रतिवेदन बुझायो ।

तर छानबिन समितिको प्रतिवेदन लत्याउँदै डिन प्राडा रामप्रसाद खतिवडाले पास भएका भनिएका विद्यार्थीलाई ट्रान्सक्रिप्ट वितरण गराए। यसमा त्रिपाठीले दोहोरो भूमिका खेलेको स्रोतको दाबी छ ।

उता पुन: परीक्षाको माग गर्दै आएका २२ जना विद्यार्थीले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सूचना आयोगमा उजुरी गरे। तीनवटै निकायले डिन तथा परीक्षा नियन्त्रण कार्यालयसँग जवाफ माग गर्दै उक्त प्रश्नपत्र नष्ट नगर्न निर्देशन दियो ।

त्यसैक्रममा पौडेलले पीडित विद्यार्थीको तर्फबाट पुन परिक्षा माग गराउन, जारी भएको ट्रान्सक्रिप्ट खारेज गर्न, नियम विपरीत प्रश्नपत्र बनाउने प्राध्यापक, त्यसलाई सदर गर्ने डिन कार्यालयका पदाधिकारी, शिक्षाध्यक्ष र त्रिवि कार्यकारी परिषदलगायतका निकायमाथि कारबाहीको माग गर्दै गएको असार २५ गते सर्वोच्चमा रिट दायर गरे।

रिटमाथि सुनुवाई गर्दै असार ३० गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै प्रश्नपत्र नजलाउन अन्तरिम आदेश दिएको छ ।

उक्त आदेशको जवाफ लेख्दै त्रिविले परीक्षा लिएको चार महिनाभित्र प्रश्नपत्र जलाउन पाउने अधिकार त्रिविको नियमले नै दिएकाले ती प्रश्नपत्र जलाइसकिएको र उक्त परीक्षामा कुनै गडबडी नभएको भन्दै आफ्नो बचाउ गरेको छ ।

तर त्रिविले यसअघि अख्तियारलाई लेखेको पत्रमा भने उत्तरपुस्तिका विवादको निरुण नभइञ्जेल सुरक्षित रहने जवाफ दिएको थियो ।

पोलापोल सुरु

यस प्रकरणमा आफू मुछिने र कारबाहीमा पर्न सक्ने भएपछि त्रिविका पदाधिकारीबीच एक अर्कालाई दोषी देखाएर उम्कने दाउपेच सुरु भएको छ ।

शिक्षाध्यक्ष त्रिपाठीले आफूभन्दा तल्लो पदमा कार्यरत डिन प्राडा रामप्रसाद खतिवडाका विरुद्ध अख्तियारमा उजुरी दिएका छिन् ।

स्रोतका अनुसार त्रिपाठीले आफूलाई विषयवस्तुबारे राम्रोसँग जानकारी नै नदिई गलत ढंगबाट भएको परीक्षालाई वैधानिकता दिएको भन्दै खतिवडाविरुद्ध गत फागुन १५ गते दर्ता नम्बर सी२७६९६ भएको उजुरी कारबाहीको माग गर्दै आयोगमा दिएकी हुन् ।

तर खतिवडाले उनकै निर्देशनअनुसार गडबड भएको परीक्षालाई मान्यता दिएका थिए ।

स्रोतः देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*