दोलखामा कुकुरले टोकेर तीन जनाको मृत्यु
दोलखा । कुकुरले टोकेर दोलखाको मेलुङमा तीन जनाको मृत्यु भएको छ । गत असार २६ गते एकै दिनमा एउटा कुकुरले १० जनालाई टोकेकोमा उनीहरुलाई रेविज संक्रमण देखिएको थियो ।
मेलुङ गाउँपालिका– ६ का ८ वर्षिय कुशल नेपालीलाई श्रावण २३ गते अवस्था गम्भीर भएपछि चरिकोट अस्पतालमा लगिएकोमा सो अस्पतालले काठमाडौं रिफर गरेकोमा बाटोमै उनको मृत्यु भएको थियो ।
यसैगरी मेलुङ– ५ का १५ वर्षका सुरज बिकलाई भदौं १ गते काठमाडौंको पाटन हस्पिटलमा लगिएकोमा उनको समेत गत भदौ २ गते मृत्युु भएको थियो ।
कुकुरले टोकेर घाइते भएका मेलुङ– ६ का ३० वर्षिय रामचन्द्र भण्डारीलाई उपचारका लागि काठमाडौं लागिएकोमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा आज बुधबार बिहान मृत्युु भएको छ ।
कुकुरको टोकाईबाट घाइते भएका अन्य सात जनाको अवस्था सामान्य रहेको मेलुङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरेराम चापागाईले बताएका छन् ।