असोज १ गतेबाट सार्वजनिक यातायात चलाउने घोषणा

काठमाडौँ । आगामी असोज १ गते बाट यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् । सरकारले यातायात व्यवसायीलाई ६ महिनासम्म कुनै पनि विकल्प नदिएको भन्दै असोज १ गते बाट सबै सार्वजनिक यातायात संचालन गर्ने घोषणा गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत यसबारे औपचारिक निर्णय बिहीबार गरिने पनि बताइएको छ ।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन, अब थेग्ने अवस्था रहेन हामी बिहीबार यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ, असोज १ देखि हाम्रा गाडी सडकमा निस्कन्छन्,’ अधिकारीले भने ।
कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ ।
यसअतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताए ।
गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।