मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

काठमाडौं ।क्याटलान क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।
यस्तै ३३ वर्षीय मेस्सी फुटबलबाट सर्वाधिक कमाई गरी बिलियनर क्लबमा प्रवेश गर्ने दोस्रो फुटबलर बनेका छन् । अघिल्लो वर्ष पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर क्लबमा प्रवेश गरेका थिए ।
फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले गतवर्षको सर्वाधिक कमाई गर्ने पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।
फोर्ब्सको अनुसार मेस्सीको वार्षिक कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । उनले पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर र ३४ मिलियन इन्डोर्समेन्टबाट आम्दानी गरेका हुन् । मेस्सी एडिडास, पेप्सी, बडवाइजर र अल भिजन कम्पनी ओरकाम टेक्नोलोजीसँग आबद्ध छन् ।
रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।