हेटौंडामा दुर्घटना हुँदा बकैयाका २ जना घाईते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको हेटौंडामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कान्तिलोकपथ अन्तर्गत हेटौंडा–७ न्युरेनी चिसापानी चोक नजिक रोकिराखेको टिपरसँँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बकैया–५ का २१ वर्षीय जुत्ते थिङ र मोटरसाइकलमा सवार ३१ वर्षीय ईन्द्र बहादुर थिङ घाइते भएका हुन् ।
हेटौंडा बजारबाट छतिवन तर्फ जाँदै गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल न्युरेनी चोकमा रोकिराखेको ना ६ ख ६७५३ नम्बरको टिपरसँग ठोक्किदा उनीहरु दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।
घाइते मध्ये ईन्द्र बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल रोकिराखेको टिपरसँग ठक्कर खादाँ दुर्घटना भएको जनाइएको छ ।