प्रतिबन्धित जडिबुट्टीसहित मकवानपुरका तीन जना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाबाट प्रहरीले अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा प्रतिबन्धित जडिबुट्टी बोकेको ट्रकसहित तीन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङ मकवानपुरको टोलीले अवैध रुपमा जडिबुट्टी ओसारपसार गरिरहेको अवस्थामा ट्रकसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
बुधबार थाहा नगरपालिका–७ मा डाँडाबासतर्फ आउँदै गरेको उक्त नम्बरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा लुकाईछिपाई लोड गरिएको प्रतिवन्धित जडिबुटी बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बा ४ ख ९६३२ नम्बरको ट्रकसहित चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार सोही स्थानका ५१ वर्षीय बुद्धिलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेका छन् ।
प्रहरीले बरामद गरेको जडिबुट्टी र ट्रकसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरमा पठाइएको पालुङ प्रहरीले जनाएको छ ।